भालुबाङ,२८ जेठ – विजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट आदेश जारी हुनुका साथै पत्रकार दिलभूषण पाठक माथि नेपाल प्रहरीको साइबर ब्युरो मार्फत पक्राउ पुर्जी जारी गरिएको घटना प्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानमा प्रत्याभूत रहेको स्मरण गराउँदै महासंघले अदालतको आदेश र प्रहरीले जारी गरेको पुर्जीप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो ।
लुम्बिनी प्रदेश महासंघका महासचिव पाण्डवप्रसाद शर्माद्वारा बुधबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रकाशित वा प्रसारित सामग्री प्रति असहमति भएमा प्रारम्भिक मूल्याङ्कन गर्ने अधिकार प्रेस काउन्सिल नेपालमा निहित छ । संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतको हो।”
महासंघले प्रारम्भिक आदेशको पुनरावलोकन गरी संविधान र विधिको मर्मअनुसार समायोजन हुने अपेक्षा राखेको छ । साथै,पत्रकार पाठकमाथि जारी गरिएको पक्राउ पुर्जी तत्काल फिर्ता लिन आग्रह गर्दै प्रेस स्वतन्त्रता प्रति राज्यले स्पष्ट प्रतिबद्धता देखाउनुपर्नेमा जोड दिएको छ ।
महासंघले पत्रकारको पेशागत स्वतन्त्रता,प्रेस स्वतन्त्रता र प्रेस काउन्सिल नेपालको संवैधानिक भूमिका जोगाउन प्रतिबद्ध रहेको स्पष्ट गरेको छ । साथै, सम्पूर्ण सञ्चारमाध्याम र पत्रकारहरूलाई आचारसंहिताको पालना गर्न आग्रह समेत गरिएको छ ।
