बंगलाचुलीमा शान्ति सुरक्षा र सेवा प्रवाहबारे जनसंवाद

कमिरेचौर, २८ जेठ — दाङको बंगलाचुली गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यालय,दाङको आयोजनामा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अध्यक्ष पुनमगरले स्थानीय सरकार जनमैत्री सेवामा क्रियाशील रहेको बताउनु भयो । उहाँले घोराही–मुर्कुटी–प्युठान सडक निर्माण सम्बन्धी विवादले बंगलाचुलीका बासिन्दा अन्यायमा परेको बताउनु भयो । साथै,बजारमा पाइने अखाद्य मदिराको बिक्री रोक्नुपर्नेमा उहाँको जोड थियो।
प्रमुख जिल्ला अधिकारी लम्सालले बंगलाचुलीलाई‘गृष्मकालीन सिटी’को रूपमा विकास गर्नुपर्ने विचार राख्दै, विकासमा नयाँ सोच र जनघनत्वलाई ध्यान दिनुपर्ने बताउनु भयो । उपाध्यक्ष भक्तबहादुर जिसीले सबै नागरिकले कानुनको पालना गर्नुपर्ने र प्रशासनिक काम कानुनी आधारमा गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाले अपराध नियन्त्रण र सेवा प्रवाहबारे जानकारी गराए । प्रशासकीय अधिकृत यामबहादुर बुढा मगरले प्रशासनबाट भएका काम र सेवा विवरण प्रस्तुत गरे।
कार्यक्रममा विभिन्न सरकारी,राजनीतिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सेवाप्रवाह र सुरक्षा सम्बन्धी विषयमा जिज्ञासा राखेका थिए ।