दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी एकता अपरिहार्य— प्रचण्ड

साउन ७ काठमाण्डौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध सबै क्रान्तिकारी तथा वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ।
काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित ४५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुष्पलाललाई नेपाली कम्युनिष्ट आन्दोलनको साझा व्यक्तित्वका रूपमा स्मरण गर्दै भन्नुभयो, “पुष्पलाललाई केन्द्रमा राखेर सच्चा कम्युनिष्टहरूले एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो।”
उहाँले पुष्पलाल मार्फत आफूले पार्टी सदस्यता लिएको स्मरण गर्दै जनयुद्ध, संविधानसभा, र शान्ति प्रक्रियामा खेलेको भूमिकाको चर्चा गर्नुभयो। “मैले कहिले विद्रोह, कहिले शान्ति, कहिले एकताको नेतृत्व गरेको छु, अहिले पनि कम्युनिष्ट एकताको झण्डा बोकेको छु,” अध्यक्ष प्रचण्डले भन्नुभयो।
प्रचण्डले वर्तमानमा सञ्चार माध्यम मार्फत जनतामा निराशा र भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध वर्गीय आशा जागृत गर्न आवश्यक रहेको बताउनुभयो। साथै, उहाँले माओवादी आन्दोलन पुष्पलालकै विचारमा आधारित रहेको दाबी गर्दै पुष्पलालको मार्गदर्शनमा आन्दोलनलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा उहाँले सबै कम्युनिष्ट र क्रान्तिकारी शक्तिहरूले साझा उद्देश्यका लागि एकजुट भएर अगाडि बढ्नुपर्ने स्पष्ट पार्नुभयो। “सच्चा सम्मान भनेको उहाँका विचारलाई व्यवहारमा उतार्नु हो,” अध्यक्ष प्रचण्डले जोड दिनुभयो