अबको शिक्षा प्रणालीले व्यावसायिक,प्राविधिक र उद्यमशीलतालाई समेट्न आवश्यक छ ।

डा.नारायण पन्थी क्याम्पस प्रमुख,महेन्द्र बहुमुखी क्याम्पस भरतपुर,दाङ

यहाँ क्याम्पस प्रमुख भएर आएको केही महिना मात्र भएको छ,यो जिम्मेवारीलाई यहाँले कसरी निर्वाह गरिरहनु भएको छ ?

सधै राजनैतिक भागबण्डाका आधारमा क्याम्पस प्रमुख नियुक्ती हुने परम्परा बसेको आवस्थामा प्रा.डा.केशर जङ वराल उपकुलपति भइसकेपछी मेरिटोक्रेसीको आधारमा क्याम्पस प्रमुख नियुक्त गर्ने योजना अन्र्तगत मैले क्याम्पस प्रमुख हुने अवसर प्राप्त गरे, यसका लागी म प्रोफेसर वराल र उहाँको टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु । क्याम्पस प्रमुख नियुक्तिको सुरुका दिनमा प्रशासकीय अनुभव नभएका कारण केहि अन्योल त भयो नै,तरपनि पूर्व क्याम्पस प्रमुखहरुको र साथीहरुको सल्लाह र सुझावले मलाई काम गर्न सजिलो भइरहेको छ। यसैगरी शैक्षिक क्रियाकलाप र परिक्षा सुधार गर्न प्राध्यापक साथीहरुसँग सर–सल्लाह गर्दै सुधारका केहि कार्यक्रमहरु हामीले अगाडी ल्याएका छौं।
यही बीचमा स्ववियूको निर्वाचन पनि सर्वसम्मत रुपमा सम्पन्न भयो । यो निर्वाचनलाई सर्वसम्मत गराउन विद्यार्थी संगठनका नेतृत्वहरु,प्राध्यापकसँग महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिले महत्वपूर्ण भूमिका खेल्नु भयो। उहाँहरु सबै धन्यवादका पात्र हुनुहुन्छ । यो निर्वाचनले क्याम्पस परिवारलाई मिलेर अगाडी बढ्ने प्रेरणा दिएको छ, त्यही अनुरुप सबैको सरसल्लाह र सुझाव अनुसार क्याम्पसका कृयाकलापहरु अगाडी बढिरहेका छन।त्यसैगरी क्याम्पसका शुभ चिन्तकहरुसँग पनि मैले निरन्तर संवादले परिणाममुखी सुधार ल्याउने प्रयत्न गरिरहेको छु ।

महेन्द्र बहुमुखी क्याम्पस दाङकै पुरानो र प्रतिष्ठित क्याम्पस मानिन्छ,यहाँको शैक्षिक गुणस्तरलाई माथि उठाउन यहाँले के–कस्ता पहल र सुधारका योजना बनाउनु भएको छ त ?

मैले क्याम्पस प्रमुखमा प्रतिष्पर्धा गर्दा क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि,प्रभावकारिता, क्याम्पसको सम्पत्ति र आर्थिक पक्षको व्यवस्थापन र क्याम्पस प्रशासनको पारदर्शीता सम्बन्धी आफ्नो अवधारणा प्रस्तुत गरेको थिएँ । क्याम्पसको शैक्षिक गुणस्तर माथि उठाउन राम्रो शैक्षिक वातावरणको निर्माण गरी कक्षा कोठालाई प्रविधि मैत्री बनाउने प्रयास गरिरहेको छु,यसका लागि कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था गरिएको छ, पुस्तकालयमा पुस्तकहरू थपिएको छ, क्याम्पसमा विद्यार्थीहरुलाई क्याम्पसको पोशाक लगाउन प्रोत्साहन गरिएको छ र क्याम्पस भित्र एउटा चमेना गृह पनि सञ्चालनमा ल्याइएको छ र विद्यार्थीहरुलाई समय–समयमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने प्रयत्न गरिएको छ । विभागीय प्रमुखहरुसँग नियमित बैठक बस्ने,पठनपाठनमा आएका समस्यालाई समाधान गर्ने प्रयत्न गरिएको छ। नयाँ योजनामा क्याम्पसको पुरानो भवनलाई भत्काई नयाँ भवन निर्माण गर्ने योजना बनाइएको छ भने क्याम्पसको हाताभित्र एउटा पार्क निर्माण गर्ने योजना बनाइएको छ। छात्रा मैत्री शौचालय बनाउने योजना पनि रहेको छ ।

हाल क्याम्पसमा कुन–कुन विषयहरुको पढाई हुने गरेको छ ? प्राविधिक धार तर्फ पनि पढाई हुने गरेको छ ?अनि पढाईमा विद्यार्थीको सहभागिता र परिक्षा रिजल्टको अवस्था कस्तो देखिन्छ ?

क्याम्पसमा अहिले मानविकी, विज्ञान, शिक्षा र व्यवस्थापनमा स्नातकसम्मको कक्षा सञ्चालन भइरहेका छन, जसमा विद्यार्थी संख्या पनि उल्लेख्य मात्रामा रहेको छ । राजनीति शास्त्र र व्यवस्थापनमा स्नातकोत्तरसम्मको कक्षा सञ्चालन भइरहेका छन् । निजी तर्फ द्यऋब्,द्यद्यब्रद्यक्अ.अक्क्ष्त् का कक्षाहरू सञ्चालनमा रहेका छन् । निजीमा भने विद्यार्थी संख्या क्याम्पसले चाहे जत्तिको छैन। सबै विषयहरुमा रिजल्ट राम्रो देखिन्छ।

क्याम्पसमा पढाइपनि नियमित भइराखेको,परीक्षाहरुपनि नियमित चलिराखेको देखिन्छ अन्य प्रशासनिक कामहरूपनि नियमित भइराख्नु प¥यो यी सबैको व्यवस्थापन कसरी गरिराख्नु भएको छ ?

क्याम्पसमा लगभग वर्षभरि नै परीक्षाहरु भइरहन्छन् । विद्यार्थी संख्या बढी भएको अवस्था मा पठनपाठन नियमित रूपमा गर्न केही असजिलो त भएको छ नै तर पनि सम्पूर्ण प्राध्यापक र कर्मचारीहरुको समन्वयबाट सबै कार्यहरू समयमै सम्पन्न भएका छन् ।

क्याम्पसमा आइपर्ने विद्यार्थीका समस्या सुल्झाउने,त्रुटिहरु सच्याउने काममा ढिलासुस्ती हुने गरेको विद्यार्थीहरुको गुनासो सुन्ने पनि गरिन्छ,यस्ता समस्याहरु मानवीय स्रोत,साधनको कमिले हुने गर्छन वा लापरवाहीले ?

क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरु अवकास हुँदै जाने र ती ठाउँहरूमा नयाँ जनशक्ति तुरुन्तै नआउने भएकाले यहाँले भने जस्तै हामीले विद्यार्थीका समस्या तुरुन्त सुल्झाउन नसकेका हुन सक्छौं । तरपनि म आफै विद्यार्थीहरुका समस्याहरू सोधेर समाधानका लागि तत्, तत् ठाउँमा आफैं पुगेर समस्याहरू निवारण गर्ने प्रयासमा लागिरहेको छु । कतिपय अवस्थामा सहायक क्याम्पस प्रमुखहरू आफै पनि लाग्नु हुन्छ, जसले गर्दा यहाँले भने जस्तो काममा ढिलासुस्ती भएको छ जस्तो मलाई लाग्दैन। तरपनि सिमित मानवीय स्रोतका कारण कुनै पनि अवस्थामा त्यस्तो देखिन्छ,जसलाई आपसी समन्वयबाट निराकरण गर्ने प्रयत्न गरिराखेका छौं।

क्याम्पस प्रशासनलाई आजको टेक्नोलोजी अनुरुप सूचना,प्रविधिमैत्री बनाउने काममा यहाँले कतिको ध्यान दिने गर्नु भएको छ ?

हाम्रो क्याम्पसको जनशक्ति पुरानो पिढी र नयाँ पिढी को मिश्रणले बनेको छ। पुरानो पिढीलाई आजको त्भअजलययिनथ केही हदसम्म गाह्रो लागेपनि नयाँ पिढीले सघाइरहेको छ। त्रिभुवन विश्व विद्यालय डिजिटलाईजेसनमा गएकाले हामी पनि त्यता नगएर सुखै छैन । यस लाई मध्यनजर राख्दै हामीले सूचना लगायत अन्य आन्तरिक क्रियाकलापलाई प्रविधिमैत्री बनाउने प्रयास त गरेका छौं, तर त्यसमा पूर्ण रूपमा सफलता हासिल गरिसकेका छैनौं। जस्तैं अहिलेको समयमा पनि विद्यार्थीहरुले शुल्क बुझाउँदा बैंकमा गएर लाइन लाग्नुपर्ने बाध्यता छ। यसमा हाम्रो चासो भएतापनि सुधार गर्न सकिरहेका छैनौं ।

खासमा आजको शिक्षा प्रणालीमा गरिनुपर्ने सुधारहरु के–के हुन जस्तो लाग्छ यहाँलाई ?

व्यावहारिक शिक्षा आजको आवश्यकता हो । हाम्रो शिक्षा प्रणाली अझै पनि धेरै हदसम्म कितावी ज्ञानमै सीमित छ, जसले विद्यार्थीलाई जीवनोपयोगी सीपहरू प्रदान गर्न सकिरहेको छैन।अबको शिक्षा प्रणालीले व्यावसायिक, प्राविधिक र उद्यमशीलतामूलक शिक्षा समेट्न आवश्यक छ। साथै, शिक्षकहरूको निरन्तर तालिम र प्रविधिको प्रभावकारी प्रयोग पनि अत्यन्त जरुरी छ। पाठ्यक्रमलाई समयानुकूल बनाउँदै जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, वित्तिय साक्षरता जस्ता विषयहरू समावेश गर्नुपर्छ।परीक्षा प्रणाली पनि केवल रटानमुखी हैन,प्रयोगात्मक र निरन्तर मूल्याङ्कनमा आधारित हुनुपर्छ। शिक्षा संस्थामा राजनीतिक हस्तक्षेप न्यूनीकरण गर्दै गुणस्तर र जवाफदेहीता सुनिश्चित गर्नु आजको मुख्य आवश्यकता हो।यी सुधारहरू बिना हामीले सक्षम, सृजनशील र उत्तरदायी नागरिक तयार गर्न सक्दैनौं ।

हालै स्ववियुलाई यहाँहरुले सर्वसम्मत रूपमा निर्वाचन गराउन सफल हुनु भएको छ, स्ववियूसँगको सहकार्यका कामलाई क्याम्पसले अगाडि बढाइरहेको छ ?

मैले अगाडि नै भनेझैं स्ववियु निर्वाचनलाई सर्वसम्मत गराऊन विद्यार्थी संगठनहरुको मुख्य नेतृत्वको महत्वपूर्ण भूमिका छ। साथै प्राध्यापक संघ महेन्द्र बहुमखी इकाई समिति र कर्मचारी प्रशासनले पनि प्रभावकारी भूमिका खेलेको छ। अहिलेको नवनिर्वाचित स्ववियु पाको र जिम्मेवारपूर्ण रहेको मैले महशुस गरेको छु। यो स्ववियुसँग क्याम्पसको शैक्षिक र भौतिक सुधारका लागि रचनात्मक छलफलहरु निरन्तर भइरहेका छन्। यी छलफलबाट आउँने परिणामहरु केही तुरुन्तै देखिएको छ भने केही पछि देखिने छन् ।

अन्त्यमा यहाँले राख्न छुटेका केही कुरा भए?

सर्वप्रथम दाङबाट प्रकाशित हुने यस गरिमामय साप्ताहिक पत्रिका नौलो जनउभारले मलाई केही कुरा राख्ने अवसर दिएकोमा यस प्रेस परिवार प्रति हार्दिक आभार प्रकट गर्दछु । क्याम्पसको सुधारका लागि एक्लो क्याम्पस प्रमुखले मात्रै गरेर सफलता प्राप्त हुँदैन,यसका लागि क्याम्पससँग जोडिएका सम्पूर्ण पक्षहरू, शुभचिन्तकहरु तथा बुद्धिजीवीहरु सबैको रचनात्मक सुझाव,सल्लाह आवश्यकपर्ने भएकाले यो क्याम्पसलाई तथा सिंगो दाङलाई शैक्षिक केन्द्र बनाउन रचनात्मक सहयोगका लागि मैले सम्पूर्णलाई अनुरोध गर्दछु । धन्यवाद