निर्मल आचार्य
हिजो मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापा जीको एउटा बयान आयो – ‘बुढा नेताले विश्राम लिए निराशा हट्छ ।’ मैले झ्वाट्ट उहाँका पूर्वसभापति गिरिजा प्रसाद कोइरालालाई सम्झेँ । को बुढो,कस्तो बुढो ? मलाई उत्तर खोज्न मन लाग्यो ।
सामान्यतया बुढो भनेको उमेरले धेरै पुगेको, शारीरिक र मानसिक रूपमा जीर्ण भइसकेको व्यक्तिलाई बुझाउँछ ।
अर्थात्,बुढो त्यो हो जसको उमेर धेरै भइसकेको छ र जो अब युवा अवस्थामा छैन ।
मैले माथि गिरिजा प्रसाद कोइरालालाई सम्झेको थिएँ,फेरि मलाई याद आयो– उनका पनि दाजु छन् त,सान्दाजु । अर्थात्, विशेश्वर प्रसाद कोइराला । क्यान्सरले थलिएको वेला पनि राष्ट्रिय मेलमिलाप नीति लिएर,ज्यान हत्केलामा राखेर नेपाल आए– एक हिसाबले प्रजातन्त्रको जग हाल्न ।
खै के भएको हो,मलाई त जम्मै बूढाहरूको मात्र पो याद आउन थाल्यो त ? पुष्पलाल बूढा, जसले जनवादी आन्दोलनको जग हाले । मनमोहन अधिकारी ७४ वर्षको उमेरमा नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री भए – इतिहासमा नमेटिने छाप छोडेर गए ।
मलाई नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाबारे अझै सोधी–खोजी गर्न मन लाग्यो ।
गिरिजा प्रसाद कोइरालाको जन्म १९२४ जुलाई ४ मा भारतको बिहार राज्यको साहर्सा जिल्लामा भएको थियो । उनका पिता कृष्ण प्रसाद कोइराला राणा शासनविरुद्ध आन्दोलनमा संलग्न भएकाले परिवार भारतमा निर्वासित थियो । कोइराला परिवार नेपाली राजनीतिमा प्रभावशाली मानिन्छस उनका दुई दाजुहरू – मातृका प्रसाद कोइराला र विशेश्वर प्रसाद कोइराला पनि प्रधानमन्त्री भएका थिए ।
गिरिजा प्रसाद कोइरालाले १९४७ मा विराटनगर जुट मिलको श्रमिक हडतालको नेतृत्व गरे,जुन नेपालमा श्रमिक अधिकार र राजनीतिक सचेतनाको महत्त्वपूर्ण घटना मानिन्छ । उनी नेपाली कांग्रेस पार्टीका संस्थापक सदस्य थिए र पार्टीको विभिन्न नेतृत्व भूमिकामा रहे । सन् १९९० ९२०४६०० को जनआन्दोलनमा उनले प्रमुख भूमिका खेले, जसले नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्यो।
उनको आदर्श भनेको बहुदलीय प्रजातन्त्र, समाजवाद,र संविधानिक राजतन्त्र हो ।
गिरिजा प्रसाद कोइराला चार पटक प्रधानमन्त्री बनेः
१९९१–१९९४ः पहिलो बहुदलीय निर्वाचनपछि प्रधानमन्त्री ।
१९९८–१९९९ः अल्पमत सरकारको नेतृत्व ।
२०००–२००१ः माओवादी द्वन्द्व उत्कर्षमा ।
२००६–२००८ः लोकतान्त्रिक आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व– जतिवेला उनी ८३ वर्षका थिए ।
२००५ मा माओवादी र सात दलबीचको १२–बुँदे सहमतिमा उनले प्रमुख भूमिका खेले । २००६ मा माओवादीसँग शान्ति सम्झौता गरेपछि, २००८ मा संविधानसभामार्फत नेपाललाई गणतन्त्र घोषणा गरियो । त्यसक्रममा उनी कार्यकारी राष्ट्रप्रमुखको रूपमा पनि रहे ।
उनले सन् १९५२ मा सुष्मा कोइरालासँग विवाह गरे, जसबाट एक छोरी – सुजाता कोइराला – जन्मिइन् । सुष्माको १९६७ मा निधन भयो ।
गिरिजा प्रसाद कोइरालाको २०१० मार्च २० मा काठमाडौँमा निधन भयो ।
गिरिजा प्रसाद कोइराला नेपाली राजनीतिका एक अमिट व्यक्तित्व थिए, जसले लोकतन्त्र, मानव अधिकार, र गणतन्त्र स्थापनामा अमूल्य योगदान पुर्याए। उनको जीवन नेपालका लागि प्रेरणादायी उदाहरण हो ।
खै किन हो कुन्नि,यो प्रसङ्गमा मलाई सुशील कोइरालाको पनि बेस्सरी याद आयो ।
सुशील कोइरालाको जन्म १२ अगस्ट १९३९ मा विराटनगर, नेपालमा भएको थियो । उनका पिता बोधप्रसाद कोइराला र माता कुमुदिनी देवी थिए । सुशील कोइरालाले १९५४ मा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरे । १९५८ मा उनले कांग्रेसद्वारा सञ्चालित भद्र अवज्ञा आन्दोलनमा सक्रिय सहभागिता जनाए ।
१९६० मा राजा महेन्द्रले बीपी कोइरालाको निर्वाचित सरकार अपदस्थ गरेपछि, सुशील कोइरालासहित धेरै कांग्रेस नेताहरू भारततिर निर्वासित भए । उनी १६ वर्षसम्म भारतमा रहे, जहाँ उनले पार्टीको मुखपत्र ‘तरुण’ सम्पादन गरे । १९७३ मा नेपाल वायुसेवाको विमान अपहरणमा संलग्न भएको आरोपमा उनी तीन वर्ष भारतीय जेलमा बसे ।
१९९६ मा कांग्रेसको महामन्त्री बने, १९९८ मा उपाध्यक्ष । २००८ मा गिरिजा प्रसादले उनलाई कार्यवाहक अध्यक्ष नियुक्त गरे,र २०१० मा पार्टीको १२औं महाधिवेशनले उनलाई अध्यक्ष निर्वाचित गर्यो।
२०१३ को संविधानसभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेपछि, १० फेब्रुअरी २०१४ मा सुशील कोइराला प्रधानमन्त्री निर्वाचित भए ।
उनको नेतृत्वमा २० सेप्टेम्बर २०१५ मा नेपालले नयाँ संविधान घोषणा गर्यो, जसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्यो । २०१५ को विनाशकारी भूकम्पपछि, उनले उद्धार, राहत,र पुनर्निर्माणमा सेना र अन्तर्राष्ट्रिय सहयोगको समन्वय गरे ।
सुशील कोइराला अविवाहित थिए र सादा जीवनशैली अपनाउँथे । उनले आफ्नो सम्पत्तिको रूपमा तीन वटा मोबाइल फोन मात्र घोषणा गरेका थिए । २००६ मा जिब्रोको क्यान्सर र २०१४ मा फोक्सोको क्यान्सर भएको थियो । क्यान्सर जितेका उनी ९ फेब्रुअरी २०१६ मा काठमाडौँमा निमोनियाका कारण बिते ।
सुशील कोइराला नेपाली राजनीतिमा सादगी,इमानदारी र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताको प्रतीक थिए । उनको नेतृत्वमा जारी भएको संविधानले नेपालको राजनीतिक इतिहासमा नयाँ युगको सुरुवात गर्यो ।
अब प्रश्नको उत्तर भेटिएलाजस्तो भयो है ? मैले धेरै ‘युवा’हरू पो पाएँ त ।
पुष्पलाल युवा,बीपी कोइराला युवा,७३ वर्षको उमेरमा प्रधानमन्त्री भएका मनमोहन अधिकारी पनि युवा ।
उत्तर त यस्तो पो आउन थाल्यो त ?
जीवनभर सामन्तवादका नाइकेलाई आदर्श मानेका गिरिजा प्रसाद कोइराला ८३ वर्षको उमेरमा सबैभन्दा युवा देखिए । संविधानसभाको चुनाव गराए । नेपालमा गणतन्त्र स्थापना गरे । के उत्तर गलत हो ?
जीवनभर सामन्तवादका नाइकेलाई आदर्श मानेका सुशील कोइराला ७६ वर्षको उमेरमा सबैभन्दा युवा देखिए । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरे । के उत्तर गलत हो ?
के गणतन्त्र ल्याउनु गलत थियो ? अथवा संविधान जारी गर्नु ? गगन जीको उत्तर के होला ?
बरु ती खसि परेका बुढाहरूले स्थापना गरेको व्यवस्थामा गगनजीको फरक मत आउन लागेको हो ? त्यस्तै त्यस्तै आभास हुँदैछ ।
अहिले नेपालमा अग्रगमन र पश्चगमनको लडाइँ पुनः चलेको छ । फेरि नयाँ युवा जन्मिँदै छन् – क. प्रचण्ड ।
नेपाली राजनीतिको इतिहास गहिरोगरी नियाल्दा मैले सबैभन्दा बुढो भूतपूर्व राजा रणबहादुर शाह पाएँ भने सबैभन्दा युवा गिरिजा प्रसाद कोइराला । छिट्टै गिरिजा प्रसाद कोइरालाको रेकर्ड ब्रेक हुँदैछ – त्यो नयाँ रेकर्ड क. प्रचण्डको नाममा आउँदै छ ।
मैले प्रस्ट उत्तर पाएँ । को बुढो,कस्तो बुढो ?
अब गगन जीलाई प्रश्न – कस्ता बुढाको बिदाइ चाहनुभएको ? ३० वर्षमा निधन हुने भूतपूर्व राजा रणबहादुर शाहजस्ता कि गिरिजा प्रसाद कोइराला जस्ता ?