दाङ २३, घोराही –तुलसीपुर फोरलेन सडक मर्मतको काम अघि बढ्ने भएको छ । मर्मतको लागि दुई निर्माण कम्पनीले जिम्मेवारी पाएका छन । घोराहीको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको करिब २८।१९ किलोमिटर सडकअन्तर्गत दुईलेन सडक मर्मतका लागि सडक डिभिजन कार्यालय दाङले रोल्पा निर्माण सेवा र रोल्पा स्वच्छता निर्माण सेवासँग सम्झौता गरेको छ ।
करिब तीन महिनाभित्र सडक मर्मतको कार्य सक्ने गरी असार १८ गते निर्माण कम्पनीसँग सम्झौता भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख एवं इन्जिनियर गुरूप्रसाद अधिकारीले बताए । सम्झौता अनुसार सडक मर्मतको काम आउने असोजको ३० गतेभित्र सक्नुपर्ने छ । कार्यालय प्रमुख अधिकारीका अनुसार घोराहीको बबई नदीदेखि हापुरखोलासम्मको करिब १३ किलोमिटर करिब १ करोड ४२ लाख ५५ हजार रोल्पा निर्माण सेवा र हापुर खोलादेखि तुलसीपुरको हात्तीखौवासम्मको करिब १५ किलोमिटर सडक १ करोड १६ लाख ९६ हजार रूपैयाँमा रोल्पा स्वच्छता निर्माण सेवासँग सम्झौता भएको छ ।
‘घोराही–तुलसीपुर फोरलेन सडक मर्मतका लागि असारको १८ गते २ वटा निर्माण कम्पनीसँग सम्झौता भएको छ’,कार्यालय प्रमुख अधिकारीले भने–‘सडक मर्मतका लागि करिब तीन महिनाको अवधि दिएका छौँ ।’अधिकारीले यातायातका साधनहरू चल्नै नसक्ने गरी सडक बिग्रिएका ठाउँमा तत्काल मर्मत हुने र कालोपत्र नै गर्नुपर्ने ठाउँहरूमा बर्षात कम भएपछि काम हुने बताए ।
करिब दुई वर्षमा फोरलेन सडक निर्माण सक्ने गरी सम्झौता भए पनि फोरलेन सडक निर्माणको काम चार वर्षसम्म पनि पूरा हुन नसकेपछि सरकारले गत जेठ महिनामा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो । २०७६ पुस महिनादेखि शुरु भएको फोरलेन सडकको भौतिक प्रगति करिब १० प्रतिशत मात्रै रहेको छ ।
असोजसम्म घोराही–तुलसीपुर फोरलेन सडक मर्मत हुने
ट्रेन्डिङ