७ चैत, चितवन। छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
चितवन माडीस्थित सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं.५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छात्राकी आमाले घटना भएको चार दिनपछि चैत ३ गते इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि प्रहरीले लामिछानेलाई पक्रेको हो ।
फागुन २९ गतेको यो घटना विद्यालयभर फैलिएपछि आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै मोसो दलेका थिए । शिक्षक लामिछानेले पटक पटक उही क्रियाकलाप दोहोर्याएकाले विद्यालयमा पढाउन दिन नसक्ने भन्दै नगर शिक्षा समितिलाई माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेल सहितले पत्रसमेत लेखेका छन् ।
बाल यौन दुर्व्यवहारमा कसुर ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था कानुनले गरेको छ ।