जनयुद्धका सहिद परिवार अभिनन्दन कार्यक्रम भावाङमा सम्पन्न

बुद्धिमान ओली

फाल्गुन १३,रोल्पा ।  नेकपा माओवादी केन्द्र माडी ५ भावाङको आयोजनामा जनयुद्धका सहिद परिवारलाई अभिनन्दन कार्यक्रम भावाङमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र माडी गाउँपालिका ५ नम्बर अध्यक्ष नन्द बहादुर बाँठा (आक्रोश)को अध्यक्षता एवम् माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा स्थानीय सरकार प्रमुख नन्द बहादुर पुन (आनन्द) को प्रमुख आतिथ्यता, माओवादी केन्द्रका माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर(मित्रमनी) को विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र माडी गाउँपालिका उपाध्यक्ष भरत बहादुर बुढामगर (वृतान्त),सचिव वीर बहादुर घर्तिमगर (हावा)गाउँ कमिटी सदस्यहरु,सहिद परिवारहरुलगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुनले सहिदहरुकै कारण यो परिवर्तन सम्भव भएको भन्दै उहाँहरुको योगदानलाई कसैले चाहेर पनि बिर्सन नसक्ने र परिवारजनलाइ सम्मान रहिरहने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि घर्तिमगरले माओवादी केन्द्रको योगदानले नै अहिलेको व्यवस्था आएको र त्यसको सबैभन्दा महत्त्वपूर्ण भुमिका सहिदहरुको भएको बताउनुभएको थियो । कार्यक्रममा २५ जना सहिद परिवारलाई सम्मान गरिएको थियो । जनयुद्धको क्रममा भावाङमा माओवादीको तर्फबाट २१ जना सहिद भएका थिए । नेकपा माओवादी केन्द्र माडी ५ भावाङका कोषाध्यक्ष सविना घर्तिमगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिव सनिदेवल बुढामगरले गर्नुभएको थियो ।