सुनछहरी गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन थाल्यो

जुनिस कुमार विष्ट 

रोल्पा, २७ । रोल्पाको सुनछहरी गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाले ४ करोड ५० लाख रुपैयाँको लगानीमा २८ कोठे भवन निर्माण कार्य सम्पन्न गरि सेवा सुरु गरेको हो। ।
भवन निर्माणका लागि गाउँपालिकाको ४ करोड ४ लाख रुपैयाँ र जिल्ला समन्वय समिति रोल्पाको ४६ लाख रुपैयाँ बजेट छुट्टाएको थियो ।

सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनमगरले नवनिर्मित भवन आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । साथै नवनिर्मित भवनमा गाउँ कार्यपालिका बैठक गरेर औपचारिक रुपमा सेवा प्रारम्भ गरिएको हो ।गाउँपालिका अध्यक्ष पुनले भवनको निर्माण कार्यमा सहयोग गर्ने जनप्रतिनिधि,निर्माण व्यवसायी ,कर्मचारी जनताहरुमा हार्दिक बधाई सहित धन्यवाद व्यक्त गर्नु भएकोछ ।

उहाँले भन्नु भयो , “हाम्रो आफ्नो भवन नहुँदा जनताका काम गर्नमा समस्या भएको थियो, अहिले आफ्नो भवन निर्माण कार्य सम्पन्न गर्‍यो, सबैलाई सहज हुने भएको छ ।” उक्त भवन भूकम्प प्रतिरोधात्मक बनाएको गाउँपालिका इन्जिनियर सन्तोष चौधरीले बताउनु भयो । भवन निर्माण कार्यको जिम्मा ज्ञान ज्योति बिल्डर्स निर्माण सेवाले लिएको थियो ।

तीन तल्लाको र लिप्त समेतको भवन सुनछहरी गाउँपालिका वडा नम्बर-५ पोबाङका स्थानीय जनताहरुले निःशुल्क दान गरेको जग्गामा गाउँपालिका कार्यालय भवन बनेको छ ।