गठबन्धनका उम्मेदवारसँग आफ्ना समस्या राख्दै मतदाता

घोराही, १३ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं १४ जनमैत्री टोलका स्थानीयहरूले आफ्ना समस्याहरू गठबन्धनका उम्मेदवारहरूसँग राखेका छन । उनीहरूले गठबन्धनका उम्मेदवारहरूले जिते मात्र विकास र समृद्धि सम्भव भएकाले आफूहरूले विजय गराउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

जनमैत्री टोलकी उपाध्यक्ष मनिराम वलीले यहाँका जनतालाई जिविका चलाउन गाह्रो भएको बताउनु भयो । उहाँले यहाँको सडकको अवस्था नाजुक भएको, पुलदेखि बस्तीसम्म आउने बाटो ग्राभेल गर्नुपर्ने, नाला नहुँदा समस्या भएको, विजुलीका तारको उचित व्यवस्थापन गर्न आवश्यक भएको जानकारी दिनुभयो ।
त्यसैगरी अर्का स्थानीय खोलाको किनारमा तटबन्ध गर्न आवश्यक भएको बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रेखा शर्माले गठबन्धनको विजय पछि मात्र समृद्धि सम्भव भएको बताउनु भयो । उहाँले महिला, दलित, जनजाति र पछाडि पारिएका वर्गको हितका लागि गठबन्धन कतिबद्घ भएको बताउनु भयो ।
प्रदेशसभा सदस्य दाङ २ (१) का उम्मेदवार राजु खनालले गठबन्धनको विजय निश्चित भएको बताउनु भयो ।