दाङ, साउन ३ । डिभिजन वन कार्यालय दाङले बुधबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी गरेका कामको सूचिकृत गरि प्रगति समीक्षा प्रतिवेदनमा प्रस्तुत गरेको छ । । घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङलिस स्कुलसँगको सहकार्यमा एक सय ५ सय विद्यार्थीहरूलाई एक घर दुई वृक्ष कार्यक्रम मार्फत ३ हजार बढि बिरुवा रोपन कार्यक्रम, बनसँग सेलिब्रेटी कार्यक्रम, पर्यापर्यटन वृद्धि गर्ने कार्यक्रम र एक वडा एक पोखरी कार्यक्रमलाई गत वर्ष कार्यालयबाट सम्पादन भएका उत्कृष्ट र आहा कार्यक्रमका रुपमा सूचिकृत गरिएको प्रगति समीक्षा प्रतिवेदन पेश गरेको छ । डिभिजन अधिकृत मोहन प्रसाद श्रेष्ठले तयार पारेको कार्यपत्र गोष्ठीमा जिल्लाका सबै सरोकारवालाहरू बीच समीक्षा गरिएको थियो ।
आर्थिक वर्ष २०७९ र ०८० को स्वीकृत कार्यक्रमहरूको बजेट उपशीर्षक अनुसारका क्रियाकलापहरू सहितको लक्ष्य र हासिल गरिएको प्रगतिलाई समावेश गरि डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यालयले कार्यक्रमको भौतिक प्रगति तर्फ ९५ प्रतिशत र कार्यक्रम वित्तिय प्रगति ९१ र प्रशासनिक तथा चालु खर्च तर्फको वित्तिय प्रगति ८२ दशमलव २५ प्रतिशत भएको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले समग्र वन क्षेत्रको काम जोखिमपूर्ण र विशेष प्रकृतिको हुने, वन जन्य आवश्यकताको परिपूर्ति सबैले निशुल्क गर्न खोज्ने र वन स्रोतको संरक्षण, व्यवस्थापन र सदुपयोगमा आम जनचासो कम हुने प्रवृत्ति हावी रहेको सन्दर्भमा वन जन्य अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, वन डढेलो रोकथाम तथा नियन्त्रण, अतिक्रमण नियन्त्रण, वन क्षेत्रको वृक्षारोपण र संरक्षण जस्ता क्रियाकलापहरूमा आम जनताहरूको व्यापक उपस्थिति र सहकार्य समन्वय आवश्यक पर्ने भएकोले यस्ता कार्यक्रमहरू सञ्चालनमा सबैको समन्वयबाट सम्पादन गर्नका लागि आफूले पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख वीर बहादुर वलीले डिभिजन वन कार्यालयको कार्य क्षेत्रमा सम्पादन गरेको कामको प्रशंसा गर्दै वन कार्यालयले आगामी दिनहरूमा उस्तै प्रकृतिका काम गर्ने विशेष वृहत सिँचाइ आयोजना जस्ता कार्यालयहरू बिच आपसी समन्वय र सहकार्य जरुरी भएको बताउनु भयो । कार्यक्रमको सहजिकरण डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले गर्नु भएको थियो ।