कृषि विज्ञानका विद्यार्थी पढ्दै कमाउदै

१३ भदौं दाङ, पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत घोराही –१० नारायणपुरस्थित सिद्धरत्ननाथ उच्च माध्यमिक विद्यालयमा कृषि विज्ञान पढ्ने विद्यार्थीले पढाइसँगै विद्यालयको खेतमा काम गर्छन । कक्षामा पढ्दै र खेतबारीमा अभ्यास पनि गर्दै विद्यार्थीहरू आधुनिक र व्यावसायिक
तरकारी खेतीको तरिका सिक्दैछन र अधिकतम उत्पादन लिने तरिका थाहा पाउँदै छन् । हिमाली जिल्ला मुगुकी सबिना बुढा क्षेत्री
नारायणपुरस्थित सिद्धरत्ननाथ उच्च माध्यामिक विद्यालयमा कृषि विज्ञान अन्तर्गत ‘बाली विज्ञान’ विषयकी विद्यार्थी हुन् । उनी पढदैं,आफैं कमाउँदै गरेर सानोतिनो आवश्यकता पनि पूरा
गरिरहेकीछिन । कृषि विषयको विद्यार्थी भएपछि उनले ठाउँको वातावरण अनुकूल खेती गर्न जान्दा बढी प्रतिफल लिन सकिने भन्ने थाहा पाएकी छन् । सविना हाल डिप्लोमा तेस्रो वर्षमा पढ्दै छिन्। उनी र उनका सहपाठी साथीहरू सैद्धान्तिक ज्ञानसँगै खेतबारीमा आफैं खटिएर प्रयोगात्मक ज्ञान पनि हासिल गर्दै आएकाछन् । विद्यार्थीको प्रोत्साहनका लागि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण इकाइ, लमही’ले तीन वटा टनेल बनाइदिएको छ । डिप्लोमाका विद्यार्थीहरू विद्यालयको ४ बिघा जग्गामा तरकारी खेती गर्छन् ।यति बेला भिन्डी,खुर्सानी, बोडी, सिमी, काँक्रो फलाएकाछन् । यसअघि च्याउ उत्पादन गरे। करेला, बन्दागोभी र फूलगोभी पनि उत्पादन गरे ।यी उत्पादन बेचेर उनीहरू आम्दानी पनि गर्छन् । यस्तो आम्दानीले उनीहरूको व्यक्तिगत खर्चमा सघाउ पुग्छ ।‘औपचारिक पढाइ सकिएपछि आ–आफ्ना ठाउँमा गएर व्यावसायिक रूपमा तरकारी खेती गर्न हिम्मत पलाएको छ,’ सविनाले भनिन् ।