जन्मदिन

– उमेशचन्द्र अधिकारी
हरेक वर्ष जीवनका पहाडहरु
हजारौं सपनाहरूका खुड्किला बनेर
उक्लिरहेछु, चढिरहेछु,
मलाई थाहा छैन मेरा अनगिन्ति सपनाहरु,
कति जिवित बने,कति मुर्छित भए
अनन्त पहाडहरुमा ठक्कर खाँदै
एउटा शुभजन्म दिन बाँचेको छ,
त्यो हरेक वर्ष भेट्न मलाई आइरहन्छ ।
इच्छाका भेलहरू, प्रेम र विछोडका भङ्गालाहरु
आश्वासन र आलिङ्गनका हरपलहरु
हजारौं माइलका यात्राहरु
जीवनको एउटा त्यान्द्रोमा अल्झिएको
माकुरा जस्तै
प्रतिक्षा र प्रगतिका नसाहरूमा
मैले एउटा जीवनको आयामलाई
चारैतिरबाट हेर्दा हेर्दै
फेरि एउटा जन्मदिन बाँचेको छ,
त्यो हरेक वर्ष मलाई भेट्न आइरहन्छ ।
वर्षभरिका खालि सपनाहरु
लाखौं मिनेट,घण्टा अनि
दिन र रातका प्रहरहरु
बार, गते, र महिन बनेर कुदेका समयहरु
फेरि एउटा विराट पुञ्ज बनेका समयहरु
हरपल ठक्कर खाँदै
एउटा शुभ जन्मदिन बाँचेको छ
त्यो हरेक वर्ष मलाई भेट्न आइरहन्छन ।
रङ्गिन सपनाहरु
उज्याला सपनाहरु
कहिले अँध्यारामा विलिन
वेवारिसे चाहनाहरु
थाक माथि थाक बनेर
फूल्न खोजेका इच्छाका
कलिला पालुवाहरु
आँधि,तुफान र वर्षाबाट खारिदै
एउटा शुभजन्म दिन बाँचेको छ
त्यो हरेक बर्ष मलाई भेट्न आइरहन्छ ।
जीवन एउटा नदेखिने क्यानभास रहेछ
तर अनगिन्ति रेखाबाट
आफू हैन आफ्नै भाग्य कोरिएको
देख्न नसकिने एउटा चित्रको
अपूर्णतालाई हरेक सपनाहरुमा
खोज्ने जमर्कोहरुलाई
म जीवनका आकृति बनाइरहेछु,
त्यसैले हरेक रेखाहरु
बक्ररेखामा सल्बलाउँदै
एउटा शुभजन्मदिन बाँचेको छ
त्यो हरेक वर्ष शुभजन्म दिन बाँचेको छ
त्यो हरेक वर्ष भेट्न आइरहन्छ ।