जनताको दैलोसम्म पुग्यो माओवादी अभियान

भदौं २७ दाङ,नेकपा माओवादी केन्द्रले शुरू गरेको जनतासँग तीन महिने विशेष रुपान्तरण अभियान दाङमा प्रभावकारी बनिरहेको छ । जिल्लाका १० वटै पालिका र सय वडामा अहिले माओवादीका नेता कार्यकर्ता जनतासँग छलफल र अन्तरक्रिया सहित विभिन्न रचनात्मक काम गर्नमा व्यस्त छन् । कतै विकास निर्माण त कतै सरसफाइका कामहरू भइरहेकाछन् । आजभोलि जहाँ तहि माओवादीको उपस्थिति र सक्रियता देखिन्छ । अभियान अन्तर्गत जनता,पार्टी र सरकार बीचको सम्बन्ध सुमधुर पार्ने काम भइरहेको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।
माओवादीको अभियानले जनतामा खुसियाली छाएको दंगीशरण निवासी सिरुपति चौधरीले बताउनुभयो । ‘सरकारमा जाँदा सबै पार्टीहरूले जनता बिर्सन्छन्, तर माओवादीले अहिले जनताको साथ छाडेको छैन,’उहाँले भन्नुभयो–‘सरकारमा गएका पार्टीका नेताहरू अहिले घर–घरमा आएर जनताको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने काम गरिरहनु भएको छ ।’ माओवादीले शुरु गरेको जनतासँग साथ,साथै रहने अभियानलाई निरन्तरता दिइरहनु पर्ने अर्का स्थानीय रेवन्त रोकाले बताउनु भयो । ‘हामीले यस्तै जनताको साथ साथै रहने पार्टी खोजेको हो’उहाँले भन्नुभयो–‘यसरी माओवादी अघि बढ्ने हो भने आगामी निर्वाचनमा सबै भन्दा ठूलो दल बन्ने देखिन्छ ।’ अर्का स्थानीय शिव वलीले अब पार्टीका नेताहरूले आफूले गरेका कमिकमजोरी प्रति आत्मआलोचित हुँदै जनताको साथमा जानु पर्ने धारणा व्यक्त गर्नु भयो ।
यसै बीच अभियान अन्तर्गत दंगीशरणमा पार्टीको पालिका स्तरीय बैठक सम्पन्न भएको छ ।अध्यक्ष मनिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रम पार्टी स्थायी समिति सदस्य जयपुरी घर्ती,केन्द्रीय सदस्य पट्टु थारु, जिल्ला सचिव विश्वराज आचार्य, नेताहरू भीमबहादुर वली, हिरालाल चौधरी,राधिका परियार लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन डिएल गौतमले गर्नुभएको थियो ।