घोराही, ७ असोज । माओवादी केन्द्रले संन्चालन गरेको ३ महिने विशेष रुपान्तरण अभियानले जनतामा आशाको संन्चार गराएको प्रारम्भिक समिक्षा गरेको छ । माओवादी जिल्ला समन्वय समितिले आइतबार जिल्लाभर अभियानको स्थिति बारे प्रारम्भिक समिक्षा गरेको छ ।
भदौ १६ गतेबाट शुरू भएको अभियानमा असोज ६ गतेसम्म भएका काम र उपलब्धिको समीक्षा गरिएको हो । अभियानले आम कार्यकर्ता पंक्ति र जनतामा नयाँ उत्साहको सञ्चार पैदा भएको माओवादीले निष्कर्ष निकालेको छ ।
जिल्लास्तरीय समीक्षा गरेर माओवादीले सबै पालिका र वडाको रिपोर्ट संकलन गरिएको छ । बैठकमा पालिकामा खटिएका केन्द्रीय नेताहरूले प्रगति रिपोर्ट प्रस्तुत गरेकाछन् । सबै केन्द्रीय नेताहरूले सरकारले गरेको काम र पार्टीको पहलकदमीबाट जनतामा नयाँ आशा देखिएको रिपोर्ट गरेका थिए ।
घोराही र बंगलाचुली क्षेत्रको जिम्मेवारी लिनुभएका केन्द्रीय सदस्य गुणेन्द्र घर्तिले अभियानले पार्टी प्रति जनताको विश्वास बढाउन थप सहयोग पुगेको बताउनुभयो । उहाँले सरकारसँग जनताका अपेक्षा धेरै भएकाले ती अपेक्षा पूरा गर्नु अहिलेको प्रमुख चुनौति भएको बताउनुभयो । राप्ती र गढवा गाउँपालिकाको जिम्मेवारी लिनुभएका केन्द्रीय सदस्य कृष्णी थारूले अभियानमा देखिएका केही प्राविधिक समस्यालाई हल गर्दै नयाँ उत्साहका साथ लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
स्थायी समिति सदस्य एवम् अभियानका दाङ जिल्ला संयोजक जयपुरी घर्तिले अभियानले पार्टी,माओवादी नेतृत्वको सरकार,कार्यकर्ता र जनता बीचको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुक परिवर्तनको प्रमुख वाहक शक्ति माओवादी भएको र अबको मुलुक समृद्धिको नेतृत्व पनि माओवादीले मात्रै गर्न सक्छ भन्ने कुरा जनतालाई विश्वस्त पार्नुपर्ने आवश्यक ओैंल्याउनुभयो ।
कार्यक्रम पार्टी केन्द्रीय निर्वाचन आयोगका प्रमुख कुबेर वली, नेताहरू जगप्रसाद शर्मा, हिमाल शर्मा, सुष्मा शर्मा घिमिरे, शेषुराम भण्डारी, कृष्ण अधिकार लगायतका नेतारहरूले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन पार्टी जिल्ला संयोजक सुवास पुनले गर्नुभएको थियो ।
यसैबीच विप्लव नेतृत्वको नेकपा र बैद्य माओवादी परित्याग गरी माओवादी केन्द्रमा समाहित भएका नेता, कार्यकर्तालाई जिल्लामा स्वागत गरिएको छ । माओवादी केन्द्रमा समाहित हुनेहरुमा किरण डिसी, विरेन्द्र विक, रमेश विक, प्रेम विक, अजय दुलाल, अजय नेपाली, गणेश चौधरी,प्रमोद कंडेल, हरि बस्नेत रहेकाछन । उनीहरुलाई जिल्ला अभियान संयोजक तथा स्थायी कमिटी सदस्य जयपुरी घर्तीले अवीर र माला लगाइदिएर स्वागत गर्नु भएको थियो ।