तुलसीपुरमा कोठाभित्रै दम्पतीको शव

असोज २० तुलसीपुर, तुलसीपुरमा एक दम्पती मृत अवस्थामा फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा बस्ने २६ वर्षका सुशील भण्डारी र उनकी श्रीमती २२ वर्षीया पवित्रा डाँगीको शव कोठाभित्रै भेटिएको तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले थाहा खबरलाई जानकारी दिए।

घटना दुई दिनअघि भएको हुनसक्ने प्रहरीको अनुमान छ। आज बिहान मात्रै भण्डारीको शव झुण्डिएको अवस्थामा र डाँगीको शव टाउकोमा चोट लागेको अवस्थामा फेला परेको डिएसपी पोखरेलले बताए। प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको प्रकृति हेर्दा भण्डारीले श्रीमतीको हत्या गरी आत्महत्या गरेको देखिएको उनको भनाइ छ।

भण्डारी सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–४ फलावाङका हुन्। उनको कोठामा केही दिनदेखि सुनसान भएपछि विभिन्न आशंका गरी स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तुरुन्तै घटनास्थलमा पुग्दा कोठा भित्रैबाट चुकुल लगाएको अवस्थामा दम्पती मृत फेला परेका प्रहरीले जनाएको छ।