शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरु बीच सहकार्य हुन्छ – मन्त्री शर्मा

दाङ, १६ कार्तिक ।
सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सबै दल बीच सहकार्य हुने बताउनु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका– ११ जीतपुरस्थि सहिद परिवारसङ्गको भेटघाटमा उहाँले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरु बीच सहकार्य हुने धारणा राख्नुभयो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन गरेको प्रतिवद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने संभावना बढेको औल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताउनु भयो ।
सरकारले सत्य निरुपण तथा मेल मिलाप आयोग मार्फत शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पुर्‍याउने तयारी भईरहेको बताउदै शान्ति प्रकृयाको कामलाई पूर्णता दिन सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रकृयाका बाँकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो बिषयलाई छिटोभन्दा छिटो हलगरि नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका शर्माले सरकारले पहिलोपटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा समान्न भएको धारणा राख्नुभयो । राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरुको नाम थप्ने बिषयमा सरकारले काम गरिरहेको जानकारी दिदै उहाँले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिने बताउनु भयो ।
भेटमा सहिद परिवारले गाउँको बाटोघाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरुले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्तिहरु एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।