जनयुद्धका घाइते हरुका लागि स्याहार केन्द्र निर्माण हुने

१७ कार्तिक दाङ, लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुका लागि स्याहार केन्द्र निर्माण हुने भएको छ । त्यसका लागि जग्गा खोजीको कार्य भइरहेको छ । प्रदेशस्तरीय स्याहार केन्द्र स्थापनाका लागि राजधानी क्षेत्रमा जग्गा खोजीको कार्य भइरहेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताउनु भयो । मन्त्री मास्केका अनुसार राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रमा जग्गाको अवलोकन गरिएको छ ।
‘जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुका लागि स्याहार केन्द्र स्थापनाका लागि हामीले जग्गा खोज्ने काम गरिरहेका छौं,राजधानी क्षेत्रको राप्ती गाउँपालिकाका विभिन्न ठाउँमा जग्गाको अवलोकन गरेका छौं’,उहाँले भन्नुभयो– ‘जग्गा प्राप्तीसँगै प्रक्रिया अघि बढ्छ ।’ स्याहार केन्द्र स्थापनाका लागि २० विघा जति जग्गा चाहिने उहाँले बताउनुभयो । घाइते परिवारलाई जीवनयापनमा समस्या हुने गरेकाले एउटै स्थानमा राखेर स्याहार पनि गर्ने र आयआर्जनमा पनि जोड्ने गरी स्याहार केन्द्र निर्माण गर्न लागिएको मन्त्री मास्कीको भनाई छ । त्यसका लागि प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०÷०८१ मा दुई करोड बजेट विनियोजन गरेको छ ।