आजबाट तिहार शुरु,बजारमा किनमेलको चहलपहल

दाङ,२५ कात्तिक । आजबाट नेपालीको दशै पछिको अर्को महान चाड तिहार शुरु भएको छ । तिहारको पहिलो दिन आज काग तिहार,कागलाई मिठो खाने कुरा दिएर पुजा गर्ने गरिन्छ । ६ दिनसम्म मनाइने तिहारको दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार अर्थात लक्ष्मी पुजा, चौथो दिन गोवद्र्धन पुजा र पाँचौं दिन भाई टिका लगाउने गरिन्छ । तिहार झिलीमिलीको पर्व भएकाले पनि यो वेला विद्युतीय झिलिमिली वत्ती र फूलमालाको खपत ज्यादा हुने गर्दछ ।
दीपावली शुरु भएसँगै जिल्लाका बजारमा तिहारको सामान किन्नेको भिड बढेको छ । तिहार लागेसँगै जिल्लाको मुख्य बजारमा सामान खरिद गर्ने उपभोक्ताहरुको भिड लाग्ने गरेको छ ।
घोराही,लमही, तुलसीपुर लगायतका क्षेत्रमा सर्वसाधारणको चाप बढेको छ । जिल्लाका साना–ठुला गाउँका बजारमा समेत चहलपहल सुरु भएको छ । बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ । तिहारमा प्रयोग हुने सामान मध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, सप्तरङ्गी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।
विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसको भिड बजारमा छ । लक्ष्मीपूजाका लागि चाहिने माटोका पाला, बत्ती, सप्तरङ्गी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्री किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ ।