खोला किनारको जिन्दगी !

रवि शिखा
‘उठ्ने बेला भएन अझै तपाईंको अहिलेसम्म सुतिराख्यो भने त चीलहरू आउलान् नि,’ छाप्रोको बाहिरबाट भाँडा मस्काउँदै दुनीले चर्को आवाजमा भनिन् ।
दार्चुला सदरमुकाम भन्दा एक किलोमिटर जति पूर्वतिर लास्कु खोला छ । त्यही खोलाको परपट्टि छ दुनीको अँध्यारो स्वर्ग । चारैतिरबाट बोराले बेरेर बार लगाइएको छ । छानो खरले छाएको छ ।बर्खामा चुहिएको पानी जम्मा गर्दा,गर्दै रात बित्छ । त्यही छानोको एकापट्टि खाना पकाउँछन् । अर्को पट्टि आङ बिसाउने ठाउँ बनाएका छन् । दुई छोराछोरी, दुनी र उनका श्रीमान धनबहादुर यही छाप्रोमा बस्छन् ।
‘हैन,अझै उठ्नु भएन भन्या’
फेरि कराइन् दुनी ।
‘सुत्न पनि पैसा लाग्ला झैं पो गर्छे त,के हो यति सारो ! दूध बेच्न जानेहरू पनि गएका छैनन् अझै त । चुप लाग्, एकछिन् सुत्न दे’ एकोहोरो स्वरमा धनबहादुर करायो ।
धनबहादुरले घडी हेरेर कहिल्यै यति बज्यो,उति बज्यो भनेन । बिहान दूध बेच्न जाने मान्छेहरूले उसको निद्रा खुल्छ । उनीहरू ठट्टा गरेर ‘लौ है धनबहादुर दूध आयो’ भन्छन् ।
धनबहादुर र दुनीले त ठट्टा गरेका हुन् भनेर थाहा पाउँछन् तर कहिल्यै दूधको रङ थाहा नपाएका भुराभुरीहरूले ‘बाबा, दूध आयो जानू लिएर आउनू’ भन्छन् अनि पो दुनीका आँखामा आँसुले डेरा जमाउँछ ।
दसैं,तिहार, गौरा जे आएपनि उनीहरूका शरीरमा उहीँ शरीर पनि राम्ररी नढाक्ने लुगा हुन्छन् । छोरा विवेक दस वर्षको भयो भने छोरी बेबिशा आठ वर्षकी भइन् ।दुबैजना सँगै खेल्छन् । उनीहरूसँग खेल्न कोही आउँदैनन् ।आमाबुवा दिनभरि बालुवा जम्मा गर्न महाकाली नदीको किनारमा जान्छन् । उनीहरू पनि त्यहीँ जान्छन् । नथाकुन्जेलसम्म खेल्छन् । थाकेपछि त्यहीँ सुत्छन् । खाना बिहान अनि बेलुका दुई टाइम मात्रै खान्छन् । अनुहार बारै मास ग्रहण लागेजस्तै छ, थोरै घामले धेरै विपन्नताले । बाहिर दूध बेच्नेहरू हिँडेको आवाजले बल्ल धनबहादुर उठ्यो ।उठेर लास्कु खोलाको तलपट्टि ढुंगाको खोँचमा नित्यकर्म विसर्जन गर्न गयो। माथि आएर हातमुख धोयो। दुनीले चिया उमाल्न लागेकी रैछिन् ।चिया त के भन्नु,चियाको गुण एउटा मात्रै छ क्यारे–त्यो हो तातो ।एक–एक बटुका पानी खाएर उनीहरू बालुवा निकाल्न नदी किनारतिर लागे । छेउमै लास्कु खोला सुसेली हाल्दै बगिरहेछ ।
त्यो भन्दा अलि तल भयंकर अवाज निकाल्दै महाकाली बगिरहन्छ । महाकालीसँगै उनीहरूका पनि दुःख बगिरहन्छन् । महाकालीको पानी फिर्ता आउँदैन तर उनीहरूका दुःखहरू घुमिरहन्छन् वरिपरि ।
बर्खामा त उतिसारो केही दुःख हुँदैन जति हिउँदमा हुन्छ । दुनी र धनबहादुरले जसोतसो जाडो कटाउँछन्, विचरा विवेक र बेबिशालाई भने निकै गाह्रो हुन्छ । मंसिरदेखि फागुसम्म ती दुई प्राणीका ओठहरू काला हुन्छन् ।‘ममी जाडो भयो आगो बाल्दिनू न’ भन्छन् निद्रा खुल्ने बित्तिकै ।
बिहान ४ नबज्दै निन्द्रा खुल्छ । त्यतिबेलादेखि आगो तापेर बस्छन् । जब लास्कु खोलामा सूर्यका किरणले स्पर्श गर्छन् तब विवेक र बेबिशा ढुंगामा बसेर घाम ताप्छन् । घाम छउन्जेल त ती दुई जति खुसी यो संसारमा कोही हुँदैन् ।
मान्छे जति रुन सक्छ त्यति नै हाँस्न पनि सक्छ भने झैं उनीहरू रमाएर खेल्छन् । ढुंगा जम्मा गरेर घर बनाउन प्रयत्न गर्छन् । जब घर बना सक्छन्, घाम अस्ताउँछ ।घामसँगै उनीहरूको आशा पनि अस्ताउँछ । घाम छँदा घर बनाउने प्रयत्न गरिरहन्छन् । उनीहरूको बाल मनलाई हेक्का हुँदैन कि घाम अस्ताउँछ भनेर ।
त्यो ढुंगाको घर त्यत्तिकै छोडेर भित्र पस्छन् ।घाम अस्ताएपछि लास्कु खोला र महाकाली नदीले चिसो सिरेठोमा दोहिरी खेल्छन् ।महाकाली र लास्कु दुवैले जित्छन् तर बेबिशा र विवेकले हार्छन् ।उनीहरूले मंसिरदेखि फागुनसम्म कहिल्यै जित्दैनन् । भित्र गएर आगो बाल्न खोज्छन् । सिर्सिर गरी चल्ने बतासले बलेको सलाइको काँटीलाई निभाइदिन्छ । केही सीप नचलेपछि दुवै भाइबहिनी बर्षौं पुरानो गुट्मुटिएको सिरकभित्र जान्छन् ।
सिरकले पनि उनीहरूको जाडो के धान्थ्यो र खै ! यसो हेर्यो भने सिरकलाई नै जाडो भए जस्तो देखिन्थ्यो ।ठाउँ–ठाउँमा च्यात्तिएको, कपास पूरै एक ठाउँमा पोको परेको सिरकले के तातो दिन्थ्यो र ! त्यही पनि दुई प्राण त्यत्तिकै सिरकभित्र बसिरहन्थे ।उनीहरू सिरकभित्र भए पनि दुवैको मन भने अघि आधा बनाएर छोडेको घरमा पुग्थ्यो । दुबै त्यही घरमा खेलेको अनि रमाएको मिठो कल्पनामा डुब्दै उत्रिँदै साँझ पर्छ। साँझ परिसक्दा बल्लतल्ल आमाबाबु आउँछन् ।
दिनभरि बालुवा निकाल्दा–निकाल्दा उनीहरूका हातखुट्टा,छाती सबै दुखेर आउँछ ।तर दुखेर पो के गर्नु र,काम गर्नुनै पर्छ । दिनभरि बालुवा निकालेको पैसाले साँझ अनि बिहान पुग्ने खाने कुराको जोहो गर्नु दुनी र धनबहादुरको बाध्यता हो ।
गरिबहरू जति नै दुखी भए पनि हाँस्न छोड्दैनन् । कहिलेकाहीँ दुनी जिस्किन्छिन्, ‘तपाईंको त नाम मात्रै धनबहादुर हो । धन त कहिल्यै हात नलाग्ने । तपाईंलाई देख्यो कि चार हात पर पो भाग्छ बा धन त । पण्डित पनि खुबै जान्ने रैछन् ।’
यति भनेर दुनी चुप लाग्छिन् । अब बोल्ने पालो धनबहादुरको ।दुनीले ठट्टा गरेकी हुन् भनी जान्दा,जान्दै पनि उसको मुखले यथार्थ बोल्न थाल्छ ।लामो सुस्केरा हाल्दै भन्छ, ‘के गर्नु दुनी,नामले मात्रै नहुने रैछ । धन कमाउन त भाग्यमा लेखेर आउनुपर्ने रैछ । हेर्न हामीले नि काम त गर्छौ नि तर एक कट्ठा बालुवाको जम्मा २० रुप्पे पाउँछौं । हाम्रो भाग्यमा काम गर्नु लेख्या छ, त्यही हुन्छ । १२ वर्षमा खोलो त फर्किन्छ भन्थे, हाम्रा नि दिन आउँलान् नि ।’
यति भनेर विवेक पनि बाउको मुखमा हेर्छ । दुनी र धनबहादुर ट्वाल्ल परेर विवेकलाई हेर्छन् । कोही बोल्दैनन् दुनीले विवेकको टाउको मुसार्छिन् ।
‘ओई दुनी, रात छिप्पिसक्यो त, के छ आजको लागि खाना पकाउन थालिहाल’ यति भनेर धनबहादुर कोल्टे परेर पल्ट्यो ।
दुनी रोटी सेक्न थालिन् । रोटीसँग हिजोको बचेको अलिकति तरकारी पनि उमालिन् । खाना बनाएर सबैलाई खानको लागि उठाइन् । धनबहादुरका आँखा लोलाउन लागेका थिए भने विवेक र बेबिशा सुतिसकेका थिए । विवेक र बेबिशालाई ब्युँझाएर सबै खाना खान थाले। बेबिशा आँखा दुख्यो भन्दै गनगन गर्दै खाँदै गर्न थालिन् ।
सधैं झैं बिहानै दुई प्राण खाना खाएर नदी किनार तिर लागे । नदीबाट बालुवा निकाल्नु के सजिलो हुन्थ्यो र आधा भिजेर बालुवा निकाल्यो । त्यो बालुवालाई कठ्ठामा राखेर किनारमा पु¥याएपछि बल्लतल्ल एक कट्ठाको २० रुपैयाँ पाइन्छ । दिनमा २०÷२२ कट्ठा जति निकाल्न सक्छन् । त्यही बेचेर साँझको खाना अनि बचेको पैसाले बच्चालाई र आफूलाई लुगाफाटो किन्न पुग्छ । मरिमेटी दुई जना काम गर्छन् ।
उता विवेक र बेबिशा कहिले ढुंगाको घर बनाउँछन् कहिले लास्कु खोला माथिको पुलमा गएर खेल्छन् । स्कुल जाने उमेर भसके पनि जान मान्दैनन्। एकदिन विवेक र बेबिशा दुवै स्कुल गएका थिए । स्कुलका साथीहरूले उनीहरूलाइ गिज्याए । पढाउने शिक्षक÷शिक्षिकाले पनि भोलि सफा भएर आउन भने ।बाहिरको मैलो पखाल्ने साबुन थिएन उनीसँग । त्यही भएर उनीहरू स्कुलको नामसम्म लिँदैनन् ।
मन जति सफा भएपनि कसैले देख्ने रहेनछ । सबैले बाहिरकै सफापन हेर्ने रहेछन् । धनबहादुर र दुनीले यही कुरा बुझे ।
आज मान्छेहरू उनीहरूको छाप्रो अगाडिबाट खुब ठाट्टिएर गइरहेका छन् । कोही कोट पाइन्टमा चिटिक्क छन् ।कोही सारीमा आकर्षक भएका छन् ।कोही कुर्ता–सुर्वालमा चिटिक्कछन् । ओहो ! अझ उनीहरूको शरीरबाट आएको बास्ना त झन् कति राम्रो । विवेक र बेनिसाले खेल्न छोडेर ती आउने–जानेलाई नै हेर्न थाले ।
आज केको दिन हो ? किन मान्छेहरू यसरी सजिएका ? सोध्न मन थियो तर आमाबाबु कोही थिएनन् घरमा । सोध्न जाउँ भने मान्छे हेर्न छुट्ने त्यही भएर बेबिशा र विवेक गएनन् । मान्छेहरूलाई हेरिरहे । तिनीहरूले सबैलाई हेरे तर ती आउने जाने कसैले हेरेनन् ती दुई बच्चालाई ।
साँझ पर्यो, अघि दिउँसो ठाँटिएर जाने सबैको हातमा केही न केही मिठो खानेकुरा थियो र तिनीहरू घर फर्किरहेका थिए । बास्नाले मन अघायो,विवेक र बेबिशाले घुटुक्क थुक निले । साँझ सबै मान्छे फर्केर गइसकेका थिए । अबेर भएपछि आमाबाबु आए । छाप्रोभित्र टुकी बालेर सबैजना भित्र बसे । आज दिउँसोको सबै कुरा आमाबाबुलाई सुनाए । आमाबुबाले भनेपछि बल्ल थाहा पाए,आज शिवरात्री रहेछ । अनि बेबिशाले सोधिन–‘ममी हाम्रो घरमा त केही ल्याउनु भएन नि फेरि ती मान्छेको हातमा त कति मिठो खानेकुरा थियो नि । हाम्रो घरमा कहिले ल्याउने ?’
आमाले छोरीको मुखमा हेर्दै भनिन–‘छोरी,अब हाम्रो घरमा भोलि ल्याउने ।’ बेबिशा र विवेक उत्पात खुसी भए । छोराछोरी खुसी भएको देखेर धनबहादुर र दुनी पनि खुसी त भए । बतासले झ्याप्प टुकी निभ्यो । दुनी सलाइ खोज्न थालिन् । बल्लतल्ल सलाई भेटाएर टुकी बालिन् ।खाना पकाएर सबैलाई खुवाइन् ।थकाइले होला सबैजना घुप्लुक्क सुते ।बिहानको सूर्यले बेबिशा र विवेक उठे । उठ्ने बित्तिकै देखे,माथि छनोमा एउटा पोको झुन्ड्याएको । खुसी भएर त्यो के हो भनेर सोधे । दुनीले हाँस्दै भनिन–‘मिठाई हो, तिमीहरू नउठ्दै तिम्रा बाले ल्याएका ।’
खुसी भएर सबैले मिठाई खाए । त्यसपछि आमाबाबु बालुवा निकाल्न गए । बेबिशा र विवेक पनि खेल्नका लागि खोलाको चिसो ढुंगातिर लागे । सधैं झैं घाम अस्तायो, चिसो सिरेठो चल्न थाल्यो । ढुंगाको घर त्यत्तिकै छोडेर दुवै भाइबहिनी भित्र सिरक भित्र गुट्मुटिए । साँझ पर्यो, आमाबाबु आए । केहिबेर कुरा गरेपछि खाना पकाएर सबैले खाए ।विवेकले भन्यो, ’आमा, बालुवा धेरै बोकेर हाम्रो पनि ठूलो घर बनाउने है पछि।’विवेकको कुरा सुनेर आमाले भनिन्, ’बाबु, बालुवाको मात्रै घर त बन्दैन नि । सिमेन्ट चाहिन्छ, रड चाहिन्छ । यी सब चिज किन्न पैसा चाहिन्छ नि, हामीसँग त छैन नि पैसा ।’
विवेकले फेरि सोध्यो–‘आमा पैसा कसरी कमाउने ?’ आमाले भनिन्, ‘स्कुल जाने, पढ्ने, ठूलो मान्छे बन्ने अनि जागीर खाएर पैसा कमाउने र ठूलो घर बनाउने है ।’ विवेक पनि उत्साहित भयो अब पढ्ने भनेर । तर अकस्मात् सम्झ्यो पहिलो दिन साथीले गिज्याएको अनि शिक्षक÷शिक्षिकाले सफा भएर आउनू भनेको । सोच्दै ऊ सिरकमा गुटमुटियो ।