सहिद स्मृति शिक्षालयमा सहिदका सन्तान

तुलसीपुर, देशमा परिवर्तन ल्याउन भनेर सहिद भएका बुबाको सपना शिक्षाको उज्यालो छर्केर पुरा गर्ने लक्ष्य बोकेका रोल्पा सुनछहारीका पर्शुराम रोका विज्ञान विषय लिएर तुलसीपुर–१७ वनकट्टीस्थित सहिद स्मृति आवासिय विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत छन ।

सहिद स्मृति आवासिय विद्यालय बनकट्टीमा रोका जस्तै तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका ४ सय ४५ जना बालबालिकालाई पढाउने गरिन्छ । उनीहरुलाई रेखदेख र पालनपोषण पनि त्यही विद्यालयमा गर्ने गरिन्छ । सहिद स्मृति विद्यालयमा किताब मात्र होइन सहिदको परिभाषा र उनीहरुको बीरताको गाथा पनि पढिरहेका छन सहिदका बालबालिकाहरु ।

रोल्पाबाट कक्षा ८ देखि सहिद स्मृति विद्यालयमा पढन आएपछि बुबा,आमाको माया पाएजस्तो अनुभूति भएको पर्शुराम रोका बताउँछन । शिक्षकलाई बुबाजस्तै, खाना पकाउने दिदीलाई आमा, बुबाजस्तै र त्यहाँ पढ्ने विद्यार्थीलाई दाजुभाइ जस्तै लाग्ने गरेको उनी बताउछन ।

‘बुबा भनेको बुबा नै हो,बुबाको जस्तो माया त कहाँ पाइन्छ होला र ?’,उनले भने–‘तर, यहाँ आएपछि बुबाआमाको माया पाए जस्तै भएको छ, दाजुभाइसँग भेट भएको महशुस भएको छ ।’
सोही विद्यालयमा द्वन्द्वपीडित अञ्जना दहितले १२ पढिसकिन ।उनले पनि विद्यालयमा विभिन्न १६ जिल्लाका द्वन्द्वपीडित अध्ययनरत विद्यार्थी बीच भावना साटासाट हुने गरेको बताइन । ‘पढाइ त छदैछ, यो विद्यालय हाम्रो भावना साट्ने थलो बनेको छ’, उनले भनिन–‘सबैका मनका कुरा सुन्दा खुसी लाग्छ । कोही सहिद परिवारका हुनुहुन्छ, कोही बेपत्ता त, कोही अपाङ्ग, घाइते परिवारका हुनुहुन्छ । उहाँहरु, हामीहरु बीच कुरा हुँदा मन हल्का हुन्छ’ ।

सहिद स्मृतिमा विद्यालयमा शिशुकक्षादेखि कक्षा १२ सम्मको पढाइ हुने गर्छ । विसं २०६६ मा जनकल्याण मावि दुधराससँग सहकार्य गरी उक्त विद्यालय सञ्चालनमा आएको हो । सोही विद्यालयमा आवासिय र शैक्षिक कार्यक्रमका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने गरेको छ । सोही विद्यालयमा अंग्रेजी माध्यामबाट पठनपाठन भइरहेको प्रधानाध्यापक धनेश्वर पोख्रेल बताउनु हुन्छ । विसं २०७७ देखि सोही विद्यालयमा सिटिइभिटी अन्तर्गत ३ वर्षे सिभिल इन्जिनियरिङको पढाइ पनि भइरहेको छ ।

विद्यालयको प्रकृति द्वन्द्वपीडित शिक्षा कार्यक्रम अन्तर्गत पर्ने भएकाले नीतिगत रुपमा स्पस्ट प्रमाण सहितका विद्यार्थी आउनेक्रम घट्दो छ । कक्षा ८ देखि तल्लो कक्षामा द्वन्द्वपीडितका छोराछोरी भन्दा तेस्रो पिँढीका नाति, नातिना बढी सक्रिय रहेको देखिन्छ ।
विद्यालयमा २१ जना शिक्षक सहित स्वास्थ्यकर्मी एकजना, लेखापाल एक जना,लाइब्रेरियन एक, कार्यालय सहयोगी दुई, सुरक्षागार्ड एक,मेस कर्मचारी ४ जना, सरसफाइ एक जना कर्मचारी कार्यरत रहेकाछन । त्यस्तै ४ वटा तीन तले भवन छन्, भने ४ वटा दुई तले भवन छन ।

द्वन्द्वपीडित परिवारका विद्यार्थीले उच्च शिक्षा पढ्ने वातावरण मिलाउनुपर्ने बताएका छन । सरकारले कक्षा १२ सम्म पढ्ने निःशुल्क पठनपाठनको व्यवस्था गरेको भएपनि त्यो भन्दा माथिल्लो शिक्षा पढ्न नपााउँदा धेरै द्वन्द्वपीडित विद्यार्थी पढाइ छोड्ने गरेको भन्दै त्योभन्दा माथिल्लो शिक्षा पनि निःशुल्क गराउनुपर्ने विद्यार्थीको माग छ । अभिभावक सहिद भएपछि टुहुरा बालबालिकालाई पालनपोषण र शिक्षा दिन देशरभर ५ वटा सहिद आवासीय विद्यालय रहेका छन ।