माओवादी दाङमा जिम्मेवारी हेरफेर

देउखुरी १५ चैत्र, नेकपा (माओवादी) केन्द्र लुम्बिनी प्रदेश समितिको पाँचौं बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । बैठकले जिल्लाका नेतृत्वमा हेरफेर गरेको छ । प्रदेशका १२ जिल्लामा कतिपय पुरानैको जिम्मेवारी यथावत रहेको छ भने केही पदमा नयाँले जिम्मेवारी पाएका छन् ।
पार्टी केन्द्रले दोहोरो जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुले सम्हालेको पद जनप्रतिनिधि अन्य नेताहरुलाई हस्तान्तरण गर्ने नीति लिएपछि जिल्लास्तरमा पनि जिम्मेवारी हेरफेर गरिएको हो ।
जसअनुसार माओवादी केन्द्र दाङको इञ्चार्जमा निर्मल आचार्य यथावत रहनुभएको छ भने सह–इञ्चार्जको जिम्मेवारीमा रामबहादुर दहित, अन्जान रहनु भएको छ । त्यस्तै पार्टीको दाङ जिल्ला संयोजकमा हरिमान पुन,‘बरुणले जिम्मेवारी पाउनु भएको छ । जनयुद्धकालमा तत्कालीन जनमुक्ति सेनाको डिभिजन सह–कमाण्डर रहनु भएका पुन हाल प्रदेश सचिवालय सदस्यको जिम्मेवारीमा रहनुभएको छ ।
प्रदेश बैठकले दाङ जिल्ला समन्वय समितिको सचिवमा विश्वराज आचार्यलाई नै कायम राखेको छ । त्यस्तै एकता प्रक्रियाबाट आउनु भएका ईश्वरी पाण्डे,खेमराज ओली र डिल्लीराज खड्का ‘आजाद’लाई प्रदेश समिति सदस्यको जिम्मा दिइएको छ । पाण्डे र ओली विप्लव नेतृत्वको नेकपा तथा आजाद नेकपा एकीकृत समाजवादीबाट माओवादी केन्द्रमा समाहित हुनुभएको थियो ।
प्रदेश बैठकले रमेश ओली ‘राजन’, खुशीराम चौधरी र प्रकाश विष्टलाई प्रदेश सदस्यमा मनोनित गरेको छ ।
बैठकले डिल्लीबहादुर रावतलाई प्रदेश सल्लाहकारमा मनोनित गरेको छ ।
बैठकलाई माओवादी केन्द्रका सचिव तथा प्रदेश इन्चार्ज चक्रपानी खनाल वलदेव र स्थायी समिति सदस्य तथा प्रदेश सह–इन्चार्ज कुलप्रसाद केसी,सोनामले वर्तमान राजनीतिक अवस्था र पार्टीले निर्वाह गर्नुपर्ने दायित्वको विषयमा निर्देशानात्मक प्रशिक्षण दिनुभएको थियो । प्रदेश अध्यक्ष सुर्दशन बरालको अध्यक्षतामा बसेको प्रदेश कमिटी बैठकले अन्य विभिन्न संगठनात्मक निर्णयहरु गरेको पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले बताउनु भयो ।