भोको पेट !

– सबिन केसी
अहो !
हेर त हाम्रो राष्ट्रियता
कहाँ छलिएछ
कहाँ बिलाएछ
कहाँ लुक्न पुगेछ
मलाई बडो पिर छ
तिम्रो मनले केही भनिरहेको छैन ?
ए हो र ?
मलाई त थाहा नै पो भएन
मेरो मन त खै कता कता
आफैभित्र पो हराइरहेछ ।
एक टुक्रा रोटीको आसमा
एक गाँस पिठोको अपेक्षामा
रोइरहेको मेरो पेटले
कहाँ राष्ट्रियता बुझ्थ्यो र
भोकलाई सम्बोधन गर्दै
पेट भित्रैबाट न्याउली कराइरहँदा
आवाजले त शून्यता छर्दै छ यहाँ !
अभावले
धुमिल बनिसके आशाका किरणहरू
मरिसके तीब्र महत्वाकांक्षाहरू
ढलिसके मर्यादाका सीमाहरू
सपनाका चिहानभित्र
आफै सल्किनै लाग्दा
तिमी शोकलाई बुझ भनेर
मलाई प्रश्न गर्छौ भने
म उत्तर दिन्छु
म त केवल भोक बुझ्छु
शोक बुझ्दिनँ
किन कि मेरो पेट भोको छ
तिमी टन्न अघाएर
भोकको कविता लेख्छौ
भोकको भाषण गर्छौ
भोकाहरूको बारेमा सोच्छौ
उस्तै परे भोकलाई बिकाउँछौ पनि
बिक्ने र बिकाउनेको बिचमा
भोक आफै शोक बनिसक्यो
फेरि तिमी भन्छौ
भोको पेटले सबै बुझ्छ
तिमी किन बुझ्दैनौ ?
अहँ !
म त्यो बुझ्न कहाँ सक्छु र ?
म आफै भोको बसेर
भोकलाई नै तमासा बनाउन सक्दिनँ

काँचो सान्त्वना पचाउन सक्दिनँ
दूषित सिद्धान्त निल्न सक्दिनँ
झुटो आसलाई स्विकार्न सक्दिनँ
भ्रमका गाँठोहरू खोल्न सक्दिनँ
छोड
यी बेस्वादको परिकार
किन पस्किन्छौ ?
एक टुक्रा सुक्खा रोटीको आसमा
बरालिएको मनले
रातको निन्द्रालाई
स्वागत गर्न सकेको छैन
बेचैन मनलाई
सान्त्वना दिन सकेको छैन
खै कसरी भनौँ
मनलाई डोरीको गाँठोजस्तै गाँठो पारेर
मलाई चिन्तनले चितामा पुराइसक्यो !
बरु
विनम्रताको ढोका खोल्छु
एक टुक्रा रोटीको जोहो गरिदेऊ
खाली पेटले
राहतको सास फेर्ने छ
एउटा
श्रमको ढोका खोलिदेऊ
यी हातहरूले ठेलाहरूलाई
स्वागत गर्नेछ !
किनकि

श्रम बुझ्छु, भ्रम बुझ्दिनँ
भोक बुझ्छु, शोक बुझ्दिनँ
जसरी पेट भरिएका तिमीहरू
सबै सबै बुझ्छौ
तर
भोक पटक्कै बुझ्दैनौ।