दाङ– दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो, बर्रो, त्रिफला,लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०–०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ । गत आर्थिक वर्षमा निजी वनबाट सबै भन्दा धेरै टिमुर उत्पादन भएको थियो । उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो,रिठा ८३ हजार ८ सय ७० किलो,तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ ।
वन डिभिजन कार्यालयका अनुसार चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको छ ।
कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा रु ६ लाख ३८ हजार राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७९–२०८० मा त्यो घटेर ५ लाख ६१ हजार ५ सयमा सीमित भएको थियो । यद्यपी गत आर्थिक वर्ष २०८०–०८१ मा जडीबुटी संकलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ । उक्त अवधिमा रु ५ लाख ७६ हजार ७ सय राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७८–०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो । आर्थिक वर्ष २०७८–०७९ मा दाङको राष्ट्रिय र निजी वनबाट २ लाख ४१ हजार ७ सय ४२ किलो काठ बेचिएको थियो ।
टिमुरका लागि दाङ पकेट क्षेत्रका रुपमा रहेको जिल्लाको बंगालाचुली गाउँपालिका सहित घोराही उपमहानगर पालिकाको वडा नम्बर १ र १८ तुलसीपुर उपमहानगरपालिकाको १९, शान्तिनगर गाउँपालिका लगायत पहाडी क्षेत्रमा यसको उत्पादन हुँदै आएको छ ।