मनमोहक स्यार्पुताल

रुकुमपश्चिम, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा फैलिएको कर्णालीकै पर्यटकीय स्थल स्यार्पुताल यति बेला टम्म भरिएको छ । बर्खा लागेसँगै लोभलाग्दो सुन्दरता बढिरहेको स्यार्पुतालले यति बेला पर्यटक पर्खिरहेको छ ।
२.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पूमा सिमछहरीबाट दादुरे हुँदै झर्ने निश्चल पानीले थप सुन्दरता दिएको छ । स्यार्पुतालसँगै गाँसिएका स्पार्पुगाउँ र दहगाउँले थप आकर्षण बढाएको छ ।टमक्क भरिएको स्यार्पुबाट दही जस्तै भएर बग्ने खोला पनि यहाँको एक आकर्षण हो ।
विशेष गरी वर्षा याममा हेर्न लायक हुने यो तालको शोभा यति बेला हलक्कै बढेको छ । स्यार्पुतालको आकार वर्षा र हिउँदमा फरक हुन्छ । आकार मात्र होइन रङ्ग पनि बदल्छ स्र्यापुले । भरिभराउ तालको साउनदेखि असोज महिना भरी अवलोकन गर्न सकिन्छ । त्यसपछि तालको आकार बिस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल निकै रमणीय देखिन्छ । बजारको सधैँको कोलाहल,हिलो,धुलो र धुवाँको सामना गरिरहेकालाई घुमघामका लागि यो ठाउँ निकै उपयुक्त छ ।
तालमा बोटिङ गर्नको लागि आधुनिक डुङ्गाको व्यवस्था छ । विशेष गरी तालबाट काठका डुङगा विस्थापित गरेर आधुनिक डुङगा राखिनु तथा खाना र बस्नका लागि होमस्टेहरू सञ्चालन गरिनुले यहाँ घुम्न आउनेहरूको संख्यामा समेत वृद्धि भएको छ ।