रोजगारीका लागि तीन वर्षमा २ लाख महिला विदेसिए

काठमाडौं । पछिल्लो तीन वर्षमा २ लाख नेपाली महिलाहरु रोजगारीको खोजीमा विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार बर्सेनि करिब ६० हजार जना महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
विभागका अनुसार बितेको ३ वर्षमा २१ लाख ४२ हजार वैदेशिक रोजगारीमा जाँदा २ लाख महिलाहरु विदेशिएका छन् । यो सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको कुल संख्याको ९।३३ प्रतिशत हो । विभागले उपलब्ध गराएको यो तथ्यांक श्रम स्वीकृति लिएर जानेहरुको मात्रै हो ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७८र०७९ मा ४९ हजार महिलाहरु वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष ०७९र०८० मा ७२ हजार जना महिलाहरु हजार विदेश गए । आर्थिक वर्ष ०८०र०८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेर ८० हजार पुग्यो ।

तथ्यांकअनुसार हरेक वर्ष वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या १० हजारले उकालो लागिरहेको छ । ‘रोजगारीका खोजीमा विदेश जानेक्रम अहिले एक तिहाइ संख्या पुरुषको नै छ’, विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी भन्छन्, ‘तर रोजगारी खोज्दै विदेश जाने महिलाहरुको संख्या पनि उत्तिकै बढिरहेको छ ।’

खाडीमा धेरै

वैदेशिक रोजगारीमा जाने महिलाहरुको पहिलो रोजाइ खाडी मुलुक देखिन्छ । विभागका अनुसार सबैभन्दा धेरै यूएई, कुबेत,कतार, साउदी र मलेशिया जाने महिलाको संख्या धेरै छ । पछिल्लो तीन वर्षमा यूएईमा ७२ हजार, कुबेतमा २७ हजार,कतारमा २४ हजार, मलेशियामा ११ हजार जना महिला कामदारका रुपमा गएका छन् ।