गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र । लुम्बिनी प्रदेश धार्मिक,सांस्कृतिक, ऐतिहासिकसँगै प्राकृतिक सम्पदाले पनि भरिपूर्ण छ । तराईको बुद्ध जन्मस्थल लुम्बिनीदेखि धौलागिरि हिमशृंखलाको पुथा हिमाल यही प्रदेशमा पर्छ ।
यो प्रदेश संस्कृतिका हिसाबले पनि धनी छ । यहाँ छुट्टै मौलिक वेशभूषा, कला, संस्कृति,रहनसहन भएका समुदायको बसोबास छ । धार्मिक तथा ऐतिहासिक स्थल पनि यो प्रदेशका सम्पत्ति हुन्, जहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनी ः रुपन्देहीमा अवस्थित बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत छ। बौद्ध धर्मावलम्बीसँगै हिन्दू धर्मावलम्बीले पनि लुम्बिनीलाई पवित्रस्थलका रूपमा लिने गरेका छन्।
लुम्बिनीमा विभिन्न देशका कला, संस्कृति झल्कने गुम्बा पनि निर्माण गरिएका छन् । मायादेवी मन्दिर लुम्बिनीको अर्को आकर्षण हो। दैनिक सयौं पर्यटक लुम्बिनी क्षेत्रको भ्रमणमा आउँने गरेका छन ।
तिलौराकोट ः कपिलवस्तुको तिलौराकोट अर्को धार्मिक तथा सांस्कृतिक महत्त्वको पर्यटकीय स्थल हो। सदरमुकाम तौलिहवाबाट तीन किलोमिटर उत्तरमा पर्ने तिलौराकोटमा गौतम बुद्धले २९ वर्ष बिताएका थिए। यहाँ ऐतिहासिक दरबारका भग्नावशेष छन्।
जगदीशपुर ताल ः कपिलवस्तुकै अर्को पर्यटकीय गन्तव्य जगदीशपुर ताल हो । मानवनिर्मित जगदीशपुर ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
यो १२८ प्रजातिका चराचुरुंगी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरको वासस्थान पनि हो। विश्वसम्पदा सूचीमा सूचीकृत तालमा हिउँदमा साइबेरिया, रूस, चीन, मंगोलिया तथा मध्यएशियाबाट समेत चरा आउने गरेका छन्।
रानीमहल ः लुम्बिनी प्रदेशको ऐतिहासिक पर्यटकीय गन्तव्य हो, पाल्पाको रानीमहल । कालीगण्डकी नदीको उत्तरतिर विशाल चट्टानमाथि पश्चिमी कला शैलीमा निर्माण गरिएको छ।
जनरल खड्गशमशेर राणालेपत्नी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका हुन्। १९५० सालमा शिलान्यास भएको रानीमहल निर्माण गर्न ४ वर्ष लागेको अभिलेख छ। पाखा तथा छहराको बीचमा रहेको रानीमहल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ।
रेसुंगा क्षेत्र ः गुल्मीको रेसुंगा क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको छ।सदरमुकाम तम्घासदेखि ६ किलोमिटर टाढाको रेसुंगाबाट हिम शृंखलासँगै तराईको समथर भूभाग पनि अवलोकन गर्न सकिन्छ । विशेष गरेर धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखलाका रोमाञ्चक दृश्यावलीको मजा लिन पाइन्छ।
सुपादेउराली ः अर्घाखाँचीको सुपादेउराली मन्दिर धार्मिक पर्यटनका लागि महत्वपूर्ण छ। सदरमुकाम सन्धि खर्कबाट ४७ किलोमिटर दक्षिणमा पर्ने सुपा देउराली बाइसे–चौबीसे राज्यका वेला खाँचीकोटका राजाले बनाएको उल्लेख छ। यहाँ पुगेपछि मनोकामना पूरा हुने जनविश्वास छ।
स्वर्गद्वारी मन्दिर ः धार्मिक पर्यटनका लागि अर्को प्रमुख गन्तव्य हो, प्यूठानको स्वर्गद्वारी मन्दिर। यो नेपालका प्राचीन मन्दिर मध्ये एक मानिन्छ। पौराणिक कालमा पाण्डव स्वर्ग जाँदा त्यही बाटो भएर गएको किंवदन्ती छ।
ब्रह्मा र ऋषिले तपस्या गरेको यस पुण्यभूमिका अग्निखण्ड, गुफा, महाप्रभु, गाईको दर्शन गर्नाले रोग व्याधि नलाग्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ। विशेषगरी वैशाख पूर्णिमा, उँभौली पर्व तथा बुद्ध जयन्तीमा मेला लाग्ने गर्छ।
>जलजला ः रोल्पाको थवाङस्थित जलजला क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हो। समुद्री सतहदेखि ३ हजार ५७६ मिटर उचाइमा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। धार्मिक हिसाबले पनि जलजला परिचित छ।
पुथा र सिस्ने ः पूर्वी रुकुममा रहेका पुथा र सिस्ने हिमाल लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन्। सात हजार २४६ मिटर उचाइको पुथा र पाँच हजार ८४९ मिटरको सिस्ने आरोहणका लागि आन्तरिक सँगै बाह्य पर्यटक पनि आउने गरेका छन्।
गाभर उपत्यका ः बाँकेकै गाभर उपत्यका अर्को पर्यटकीय गन्तव्य हो। विशेषगरी होमस्टेले गाभर उपत्यकालाई परिचित बनाएको छ। होमस्टेमा पाइने अर्गानिक तथा रैथाने खानपिन र मौलिक कला, संस्कृतिले पर्यटकलाई आकर्षित गर्दै आएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज ः देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ, बर्दिया राष्ट्रिय निकुञ्ज। साढे पाँच दशकअघि शाही शिकार आरक्षका रूपमा स्थापना गरिएको संरक्षित क्षेत्रलाई पछि राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो । यहाँ बाघ, गैंडा, हात्ती, घडियाल, डल्फिन लगायत जीवजन्तु संरक्षित छन् ।
केबलकार
(बुटवल)ःरुपन्देहीको बुटवलका अहिले दुईवटा केबलकार सञ्चालनमा छन् ।बुटवलका गोलपार्कदेखि पाल्पाको तिनाउ गाउँपालिका पर्ने वसन्तपुरसम्म एउटा र बुटवलदेखि पाल्पाको नुवाकोटसम्म अर्को केबलकार सञ्चालन आएको छ । बुटवलमा आउने पर्यटयकहरूलाई अहिले केबलकार एउटा महत्वपूर्ण गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल बजारमा पुगेका पर्यटकले लुम्बिनी केबलकार चढेर वसन्तपुरमा रहेमा रहेको कामाख्या देवीको मन्दिर पुग्न सकिन्छ । यता सिद्धार्थ केबलकार चढेर नुवाकोटको चिसो हावासँगै रमणीय दृश्य हेर्न सकिन्छ ।
धारापानी ः
दाङ जिल्लाको सुन्दर सहर घोराही नजिकै रहेको धारापानी क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य हो । यहाँ अग्लो पञ्चधातु मिश्रित त्रिशूल स्थापना गरिएको छ भने पाण्डव शयन शिला, विभिन्न देवी देवताका मन्दिर पनि छन् । धारापानीमा तीर्थाटनका लागि धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । खास गरी शिवरात्रिका बेला यहाँ भव्य मेला लाग्दछ । यहाँ जान पनि सडकको पूर्वाधारको सुविधा छ ।