काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गर्नु भएको छ । आइतबार बसेको पदाधिकारी बैठकमा उनले अहिलेका सबै कमिटी भंग गरेर मंसिरमा महाधिवेशन गरी नयाँ नेतृत्व चुन्ने प्रस्ताव गर्नु भएको हो ।
उक्त प्रस्ताव पदाधिकारी बैठकबाट पारित भएर केन्द्रीय कमिटीमा जाने छ । केन्द्रीय कमिटी बैठकले यस सम्बन्धी औपचारिक निर्णय गर्ने छ । ‘अध्यक्ष प्रचण्डले सबै कमिटी भंग गरेर आयोजक समितिमा रुपान्तरण गर्ने र मंसिरमा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्ने प्रस्ताव राख्नु भएको छ,’ बैठकमा सहभागी एक पदाधिकारीले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठक पनि एक हप्ताभित्रै बोलाइने बताइएको छ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर पक्षले अहिलेको नीति र नेतृत्वबाट पार्टी नचल्ने भन्दै विशेष महाधिवेशन माग गर्दै आएको छ ।
जेनजी युवा आन्दोलनपछि यो माग अझ बढी चर्को भएको छ । उपमहासचिव शर्माले प्रचण्डले राजीनामा दिएर नयाँ नेतृत्वका लागि बाटो खोलिदिनुपर्ने बताएका छन् ।
