अजयदीप शर्मा,
दाङ जिल्लाको राजनीतिक, सामाजिक र ऐतिहासिक परिप्रेक्ष्यलाई एकत्रित गर्दै यसका संघर्षमूलक पृष्ठभूमिलाई उजागर गरेको एक ऐतिहासिक रचना ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ एउटा दस्तावेजका रुपमा हामी कहाँ उपलब्ध भएको छ। डा.सुदीप गौतमद्वारा लिखित यस पुस्तकमा इतिहासको मन्थन गरेर दाङलाई एउटा जिल्लामा सिमित नगरेर राष्ट्रको परिवर्तनको केन्द्रबिन्दुमा उभ्याएको छ। प्राध्यापक तथा संन्चारकर्मी डा.सुदीप गौतमको ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ पुस्तकमा दाङको गौरवमय इतिहासलाई तथ्यपरक ररोचक ढंगले प्रस्तुत गरिएको छ । इतिहास प्रति रुचि राख्नेहरुका लागि मात्र नभई इतिहासका विद्यार्थी र अनुसन्धानकर्ताहरुका लागि यो पुस्तक अनिवार्य पठ्न सामाग्री जस्तै बन्न गएको छ ।
४३८ पृष्ठ रहेको यस पुस्तकले दाङको राजनीतिक इतिहासको यात्रालाई सिलसिलेवार रूपमा जोड्दैं तथ्यपरक घटनाको विश्लेषणात्मक र प्रवाहमय लेखन प्रस्तुतिले पाठकलाई इतिहासको गहिराइमा डुबाउँन सहज बनाएको छ । यो पुस्तक दाङको प्राचीन पृष्ठभूमिबाट शुरू भई नेपालको एकीकरण, २००७ सालको क्रान्ति,पहिलो आम निर्वाचन, किसान आन्दोलन, पञ्चायतकालीन विद्रोह, २०४६ सालको जनआन्दोलन,माओवादी जनयुद्ध २०५८ को व्यारेक आक्रमण, २०६२ र ६३ को लोकतान्त्रिक आन्दोलन र संक्रमणकालीन न्याय सम्मका घटनाक्रमलाई जोडेको छ। ९ खण्डमा प्रस्तुत यो पुस्तकमा गौतमले पृथ्वीनारायण शाहको सेनाले दाङ जिते पछिको अवस्थादेखि जनयुद्धकालिन द्वन्द्व सम्मका घटनाक्रमलाई तथ्य र तर्क सहित प्रस्तुत गरेकाछन भने प्रत्येक कालखण्डमा लेखकले दाङको भूमिका, बलिदान र योगदानलाई प्रमाण सहित चित्रण गर्ने प्रयास गरेका छन् ।
पुस्तकको मुख्य आकर्षण यसको इतिहासको सूक्ष्म विश्लेषण हो। गौतमले पृथ्वीनारायण शाहको दाङ जितपछिको अवस्था र त्यसको सामाजिक–राजनीतिक प्रभावलाई खोज बनाएका छन।उनले २००७ देखि २०१५ सालका विभिन्न राजनीतिक घटनाक्रमहरूलाई मसिनो गरी समेटेका छन् । पुस्तकमा दाङको राजनीतिक जागरूकता र यसका प्रमुख नेता र संघर्षका क्षणहरूलाई व्याख्या गर्दै यस क्षेत्रले नेपालको राजनीतिकमा पाएको महत्वलाई पनि प्रस्तुत गरिएको छ।२०४६ सालको जनआन्दोलनदेखि माओवादी जनयुद्धको प्रभाव र पञ्चायत विरोधी आन्दोलनसम्मका घटनाक्रमलाई लेखकले पुस्तकमा वृह्त रूपमा व्याख्या गरेका छन्। यो पुस्तकले केवल राजनीतिक घटनाहरू मात्र नभई,दाङको सामाजिक र सांस्कृतिक पृष्ठभूमिको पनि विवेचना गरेको छ।डा.गौतमले दाङको परिवर्तित सामाजिक र सांस्कृतिक संरचनालाई ऐतिहासिक मध्यविन्दुमा राखेर यस क्षेत्रको सामाजिक उत्थान र चेतनाका क्षणहरूको समेत व्याख्या गरेका छन् ।
इतिहास लेख्नु आफैमा एक चुनौती पूर्ण कार्य हो।लेखकले यो पुस्तक लेख्नका लागि व्यापक अनुसन्धान र सूक्ष्म विश्लेषण मार्फत दाङको वास्तविक इतिहासलाई उजागर गरेका छन।इतिहासको गहिरो अध्ययन र विश्लेषणात्मक दृष्टिकोणले उनको यो पुस्तकलाई एउटा प्रामाणिक ऐतिहासिक दस्तावेज भन्न सकिन्छ। डा.गौतमले इतिहासका छित्ररिएका र फुस्किएका पानाहरूलाई पुनर्जीवित गराउँर्दै,नेपालको राजनीतिक इतिहासमा दाङको योगदानलाई तथ्य र तर्क सहित पुनः लेखन गरेर समाजलाई ठुलो गुण लगाएकाछन। लेखकको आउँदै गरेको अर्को ऐतिहासिक पुस्तकका लागि पनि हार्दिक बधाई ।


