वाम एकता ः अवसरको ढोका र जनअपेक्षाको परीक्षा

नेपालको राजनीति फेरि एक निर्णायक मोडमा आइपुगेको छ । भदौं २३ र २४ गतेको जेनजी आन्दोलनले देशभरि परिवर्तनको तीव्र चाहना र पुरानो राजनीतिक कार्यशैली प्रतिको असन्तोषलाई नयाँ उचाइमा पु¥यायो।त्यसैको प्रभावस्वरूप अहिले विभाजित वामपन्थी शक्तिहरू बीच पुनः एकताको लहर देखापरेको छ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको संयोजकत्वमा एकीकृत समाजवादी सहित ९ दल र समूह बीच सुरु भएको वाम एकता प्रयास देशको समग्र राजनीतिक अवस्थाका दृष्टिले सकारात्मक र समयसापेक्ष पहल हो।दशकौँदेखि टुक्रा–टुक्रा भएर कमजोर बनेका वाम शक्तिहरू फेरि एउटै विचार र उद्देश्यमा एकीकृत हुने प्रयासलाई सराह्ना गनैपर्छ, तर त्यो केवल दलगत फाइदाको हिसाबले होइन, राष्ट्रिय स्थायित्व र जनविश्वास पुनःस्थापनाको दृष्टिमा केन्द्रित रहेको हुनु पर्दछ। विगतको अनुभवले भन्छ कि वाम एकता घोषणा गर्न सजिलो छ तर त्यसलाई टिकाइराख्न कठिन ।
वाम आन्दोलनको इतिहासमा पटक–पटक एकता र फुटको दोहोरिने चक्रले जनताको विश्वास हल्लाइरहेको छ।एकातिर,नेताहरूको व्यक्तिगत स्वार्थ,सत्तालिप्सा र पदमुखी राजनीतिक अर्कोतिर, विचार र सिद्धान्त भन्दा बढी शक्ति र सिट बाँडफाँडमा केन्द्रित निर्णयहरूले जनतालाई वाक्क तुल्याएको छ। यदि अहिलेको एकता पनि त्यही पुरानो प्रवृत्तिको पुनरावृत्ति मात्र भयो भने यो एकता जनताको लागि नयाँ आशा होइन, निराशाको अर्को अध्याय बन्ने छ। एकताको उद्देश्य केवल अस्तित्व बचाउने वा सत्ताको समीकरण मिलाउने होइन बरु जनताको दैनिकी, बेरोजगारी,महँगी,शिक्षा, स्वास्थ्य र सुशासनका प्रश्नहरू समाधान गर्ने साझा शक्तिको निर्माण हुनुपर्छ । जेनजी आन्दोलनले युवा पुस्ताको असन्तोष र चेतनाको सन्देश प्रस्टसँग दिएको छ, जनता अब खोक्रा भाषण होइन, नतिजा खोजिरहेका छन्।त्यसैले वाम दलहरूले अब आत्ममूल्यांकन गर्दै जनमुखी व्यवहार,पारदर्शिता र आन्तरिक लोकतन्त्रलाई प्राथमिकतामा राख्नै पर्दछ ।
आज वाम शक्तिहरूले पाएको अवसर देशको राजनीतिक दिशानिर्धारण गर्ने ऐतिहासिक मोड हो।यदि माओवादी केन्द्र र समाजवादी दलले आफूलाई जनतामा समर्पित गर्दै यो एकतालाई इमान्दार र व्यवहारिक बनाउन सके भने यो एकता दीर्घकालीन राजनीतिक स्थायित्व र सामाजिक रूपान्तरणको आधार बन्न सक्छ । नेतृत्व पुस्तान्तरण,भ्रष्टाचार विरुद्धको दृढ नीति,जनजीविकामुखी कार्यक्रम र वैचारिक स्पष्टताका माध्यामबाट मात्र यो एकता जनताको मनमा बस्न सक्छ । वाम एकता सत्ता प्राप्तिको साधन होइन,जनसेवाको अभियान हो भन्ने आत्मबोध दलहरूमा जागृत भयो भने जनविश्वास पुनःस्थापित हुनेछ। विगतका गल्तीहरू माथि आत्मालोचना गर्दै,सामूहिक दृष्टि र साझा प्रतिबद्धता सहित अघि बढे मात्र वाम एकता अर्थपूर्ण र ऐतिहासिक बन्ने छ।यो अवसर केवल दलहरूको लागि होइन,राष्ट्रकै लागि निर्णायक परीक्षा हो,जहाँ सफलताकोचाबी इमान्दारिता,एकता र जनउत्तरदायित्वमा निहित छ ।