खेमराज न्यौपाने
हाम्रो समाजमा आर्थिक, सामाजिक र राजनीतिक दृष्टिले सम्पन्न व्यक्तिहरूले सधैं आर्थिक र सामाजिक रूपमा कमजोर वर्गमाथि इतिहास देखिनै प्रभुत्व जमाउँदै आएको छ। आज पनि यही प्रवृत्ति विभिन्न रूपमा देखिन्छ। आर्थिक रूपमा धनी र शिक्षित वर्गले गरिब र अशिक्षित वर्गलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने, उनीहरूलाई दवाबमा राख्ने र कहिलेकाहीँ त उननीहरुकै घरभित्र कलह ल्याइदिने आफ्नै समाजभित्र आन्तरिक कलह र सामाजिक हिंसा निम्त्याउने कामसम्म गरेको देखिन्छ। यो असमानता केवल व्यक्ति या समाजको स्तरमा मात्र सीमित छैन, राष्ट्रकोस्तरमा पनि यस्तै विभाजन र शोषण स्पष्ट रूपमा देख्न सकिन्छ।
आजको विश्वमा आर्थिक रूपमा शक्तिशाली राष्ट्रहरूले आर्थिक सहयोगको नाममा कमजोर राष्ट्रहरूमा आफ्नो प्रभुत्व जमाउने प्रवृत्ति बढ्दो छ। विशेषगरी एनजीओ (गैरसरकारी संस्था)आइएनजिओ (अन्र्तराष्ट्रिय गैरसरकारी संस्था) हरूलाई उपकरणका रूपमा प्रयोग गरेर उनीहरूले आफ्नो राजनीतिक, सांस्कृतिक र धार्मिक प्रभाव विस्तार गरिरहेका छन्। सहायता, विकास, शिक्षा, स्वास्थ्य, र मानवअधिकारका नाममा ती संस्थाहरूले विकासशील अविकसित देशहरूको आन्तरिक नीति, शिक्षण प्रणाली, भाषा र सांस्कृतिक चेतनामा हस्तक्षेप गर्न थालेका छन्।
नेपाल पनि यस्तो हस्तक्षेपबाट अछुतो छैन। २०४६ सालको प्रजातान्त्रिक आन्दोलनपछि देशमा एनजीओ र आइएनजीहरूको तीव्र विस्तार भयो। जनताको हितका लागि भनेर स्थापना गरिएका यी संस्थाहरूले आरम्भमा शिक्षा,स्वास्थ्य र दिगो विकासका क्षेत्रमा केही योगदान गरे पनि,पछिल्ला वर्षहरूमा यिनीहरू विदेशी स्वार्थका प्रतिनिधि बनेका छन् भन्ने आरोप बढ्दै गएको छ। उनीहरूले देशभित्रका राजनीतिक दलहरूलाई आर्थिक रूपमा सहयोग गर्ने,र आफ्नो नीति अनुसार काम गर्न दबाब दिने र देशको युवा पुस्तालाई आफ्ना विचार र मूल्य प्रणालीतर्फ आकर्षित गराउने कार्य गरिरहेका छन्।
प्रारम्भिक चरणमा यी संस्थाहरूले राजनीतिक दलहरूमार्फत आफ्नो गतिविधि सञ्चालन गर्थे। तर, दलहरूबीचको प्रतिस्पर्धा, अविश्वास र जनताको बढ्दो सचेतताका कारण त्यो रणनीति सफल हुन सकेन। त्यसैले अहिले उनीहरूले पछिल्लो पुस्ता युवा पुस्ता लाई लक्षित गर्न थालेका छन्। विभिन्न प्रशिक्षण,सेमिनार, स्कलरसीप, अनलाइन कार्यक्रम र जागरण अभियानका नाममा विदेशी मूल्य, धर्मशास्त्र,भाषा,कला संस्कृति र सोच थोपर्ने काम ती संस्थाहरूले सूक्ष्म रूपमा गरिरहेका छन्। युवाहरूलाई आधुनिकताको आवरणमा आफ्नो देश,संस्कृति र परम्पराप्रति उदासीन बनाउन खोजिएको छ।
हाम्रो देशको स्वाधीनता केवल भौगोलिक सीमाभित्र सीमित छैनस यो हाम्रो संस्कृति,भाषा,धर्म,नैतिक शिक्षा र सामाजिक मूल्यहरू भित्र पनि निहित छ। यदि ती क्षेत्रमा विदेशी प्रभाव बढ्दै गयो भने देश स्वतन्त्र रहँदैन। त्यसैले,अहिलेको सन्दर्भमा राष्ट्रिय चेतना र आत्मनिर्भरता बढाउनु अत्यावश्यक छ। युवा पुस्ताले विदेशी संस्थाहरूको चमकधमकमा नफसिकन, तिनका उद्देश्य बुझ्न र आफ्नो देशको हितका लागि सचेत रहनु जरुरी छ।
राष्ट्रको स्वाधीनता केवल सीमामा बन्दुक बोकेर जोगाउने कुरा होइनस यो विचार, नीति, र व्यवहारमा पनि स्वतन्त्र हुनुपर्छ। विदेशी सहयोगको नाममा आफ्नै मूल्य गुमाउने अवस्था आइपुग्दा त्यो सहयोग होइन, शोषण बन्छ। त्यसैले, हामी सबै विशेष गरी शिक्षित र सचेत युवापुस्ता ले देशको अखण्डता, संस्कृति र स्वाभिमान जोगाउन सधैं सजग रहनुपर्छ।
अन्ततः,एनजीओ र आइएनजीओ हरूको भूमिकालाई पूर्ण रूपमा नकार्न सकिँदैन, तर तिनको कामको निगरानी र पारदर्शिता अनिवार्य हुनुपर्छ। विदेशी स्वार्थका लागि हाम्रो राष्ट्रिय नीति,शिक्षा प्रणाली र संस्कृतिमा हस्तक्षेप गर्न खोज्ने हरूलाई समयमै रोक्न सकेनौं भने स्वाधीन नेपाल “विकासको नाममा निर्भर नेपाल” बन्न पुग्ने छ। त्यसैले,आजको आवश्यकता हो—देशभक्तिपूर्ण सोच,आत्मनिर्भर अर्थतन्त्र, र स्वाभिमानयुक्त युवा पुस्ता जसले देशलाई विदेशी प्रभुत्वबाट जोगाउन सकून्।
, शक्तिशाली राष्ट्रहरूले एनजीओ र आइएनजीओका माध्यमबाट आफ्नो राजनीतिक र सांस्कृतिक स्वार्थ पूरा गर्न खोजिरहेका यस युगमा, नेपाली युवाले सुझबुझका साथ आफ्नो देशको पहिचान, स्वाधीनता र अखण्डता जोगाउनु नै साँचो राष्ट्रसेवा हो।



