लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा कांग्रेसको आपत्ति

वर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको धारणा सार्वजनिक गरेको छ । सडक निर्माण रोक्न माग गरेको उसले नेपाल र भारतको सीमा सम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केही दिनअघि एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए । त्यही विषयलाई लिएर कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको दोहोर्‍याएको छ । महामन्त्रीद्वय थापा र शर्माले यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्नेमा समेत कांग्रेस स्पष्ट भएको दाबी गरेका छन् ।

कांग्रेसले कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने माग गरेको छ ।