स्थानीय तहको चुनाव जेठ मसान्त भित्र गर्न सत्तारुढ गठबन्धन तयार

काठमाडौं । सत्तारुढ  दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् ।  शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न तयार भएका हुन ।

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय गरेको छ । ऐनमा रहेको स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएको भन्दै त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमति भएको गठबन्धनका एक नेताले बताए ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार ऐन संशोधन गर्न आवश्यक भए त्यसको प्रक्रिया अघि बढाउन पनि बैठकले सरकारलाई सुझाव दिएको छ ।

यसअघि सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरी स्थानीय तहको निर्वाचन धकेल्ने विषयमा छलफल भएको थियो । तर गत बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् ।