एमसीसी पास नगरे गठबन्धन टुट्छ: प्रधामन्त्री

१६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले  अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नगरे गठबन्धन भाडिने चेतावनी दिएका छन् । एमसीसी पास गर्नै  बाध्यतामा आफू रहेको बताउनदै तत्काल प्रतिनिधी सभामा टेवल गर्नु पर्ने बताएका छन् । एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने तावनीसमेत दिएका हुन् ।

शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक उनले यस्तो बताएका एक नेताले जानकारी दिए । साँझ पख भएको बैठकमा स्थानीय तहको निर्वाचन जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की थिए ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् । ‘फेब्रुअरी १ मा एमसीसी अनुमोदन गराउन अमेरिकाले म्याद दिएको कुरा प्रधानमन्त्रीले सुनाउनुभयो,’ एमसीसी अध्ययन कार्यदलमा समेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘त्यसभित्र तिमीहरुले गर्‍यौ भने गर्‍यौ, नभए हामी फिर्ता लान्छौं भन्याछन् भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो ।’

उनले एमसीसी पास गर्नैपर्ने भएकाले सहयोग गर्न अरु दलका नेताहरुसँग आग्रह गरे । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत भएनन् । कार्यदलमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताए ।

जवाफमा प्रधानमन्त्री देउवाले संसदमा प्रस्ताव पेश गर्ने अडान मात्रै लिएनन्, तपाईंहरुलाई मन लागे भोट हाल्नुस्, मन नलागे नहाल्नुस् समेत भनेका छन् । ‘प्रधानमन्त्री पास गर्नै पर्ने दबाव भएकोले यहि अधिवेशनबाट पारित गर्नुपर्छ नत्र भने गठबन्धन टुट्छ उनले भनेका थिए ।

गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बैठक स्थगित गराएका छन् । माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले शनिबार साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो ।

‘अब संसद बैठक १० दिन स्थगित गरौं, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ । के के हुँदो रैछ हेरौँ भनेर हामीले संसद बैठक १० दिन पछि सार्‍यौं’ एकीकृत समाजवादीका नेता खनालले भने ।

उनले यही अवस्थामा एमसीसी अनुमोदन नहुने पनि बताए । ‘एमसीसीमा यत्राविधि आपत्तिजनक कुरा छन्, नसच्चिएसम्म अनुमोदन हुँदैन,’ खनालले अनलाइनखबरसित भने ।

बालुुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धन टुट्दा आउँदै गरेको चुनावमा आफैंलाई घाटा पर्ने सम्भावना देखेका छन्, त्यसले एमसीसी पनि अनुमोदन गराउने र स्थानीय निर्वाचनसम्म गठबन्धन पनि जोगाएर जाने पक्षमा छन् ।