प्रतिनिधिसभामा प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव पेश

२९ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा आइतबार पेश भएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेश गरेका हुन् ।

फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधिसभाका ९८ सांसदले दर्ता गरेको महाअभियोग प्रस्ताव आइतबार संसद बैठकमा पेश भएको हो ।

सांसद गुरुङले संसदमा महाअभियोग प्रस्ताव पेश गर्दै प्रधानन्यायाधीश जबराले संविधान, कानुन र न्यायिक मूल्य मान्यताविरुद्ध काम गरेको, उनको न्यायिक आचरण र कार्यक्षमताका अभाव देखिएको बताए ।

सभामुख अग्नीप्रसाद सापकोटाले महाअभियोग प्रस्तावमाथिको छलफल आगामी वैठकमा गर्ने बताएका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बोलाएका छन् ।