सरकारले नगरे चैत्र ७ भित्र आफै भाडा समायोजन गर्ने यातायात व्यवसायीको चेतावनी

२९ फागुन, काठमाडौं । सरकारले चैत्र ७ भित्र भाडा समायोजन नगरे आफै समायोजन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चेतावनी दिएको छ । इन्धनमा अत्याधिक मुल्य वृद्धि हुँदा पनि भाडा समायोजनमा वेवास्ता गरेको भन्दै महासंघले यस्तो चेतावनी दिएको हो ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले भाडा बृद्धि गर्नैपर्ने बाध्यता रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले पछिल्लो समय इन्धनमा भएको मुल्यवृद्धिको विरोध गर्दै आगामी चैत्र ७ गतेसम्म भाडा समायोजन नभएमा वाध्य भई वैज्ञानिक भाडा कार्यविधिलाई आधार मानी भाडा समायोजन गर्ने सरकारलाई चेतावनी दिए ।

महासंघले बाग्मती प्रदेशमा वैज्ञानिक भाडा समायोजन विधि लागु नगरेको, संघीय सरकारले समायोजन गरेको भन्दा कम प्रतिशत भाडा समायोजन गरी अव्यवहारिक निर्णय गरेकाले सोलाई समेत थप समायोजन गर्न, सार्वजनिक बसको लागत बृद्धि ९.०३ प्रतिशत, ट्रक (पहाड) लागत वृद्धि ११.८२ प्रतिशत लगायत भाडादर कायम गर्न सरकारसमक्ष माग राखेको छ।

त्यस्तै, ट्याक्सीको भाडा बाग्मती प्रदेश सरकारले हालसम्म पनि समायोजन नगरेको भन्दै गण्डकी प्रदेशमा लागु भएको फल्याग डाउन रु ८० र प्रति पल्स २ सय मिटरको रु १० भाडा दरलाई आधार मानि बाग्मती प्रदेशमा पनि भाडा समायोजन गर्न तथा सरकारले गत असार २७ गते समायोजन गरेको भाडादर पर्यटक सवारीको हकमा समायोजन नभएकोले वैज्ञानिक भाडा समायोजन गर्न महासंघको माग छ ।