३० फागुन, काठमाडौं । जन्ती बोकेको टिपर दुर्घटना हुँदा सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।
दुर्घटनामा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ४ जना गम्भीर छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जन्ती लिएर बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना३ख ७४९० नम्बरको टिपर दुधौली नगरपालिका-५ ठाकुरखोला ३ नम्बर पुलस्थित सडकमा आइतबार राति दुर्घटना भएको थियो । टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।
बेहुला बेहुली भने अर्कै गाडीमा थिए ।