१ चैत, काठमाडौं । फागू पूर्णि होली पर्वमा जबरजस्ती रङ दल्नेलाई प्रहरीले मुद्दा चलाउने भएको छ ।
इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जबरजस्ती रङ दल्ने र लोला हान्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाउने बताए ।
पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने बताउँदै उनले होलीका नाममा कसैमाथि पनि जबरजस्ती भएको तथा मदिरालगायत अन्य लागुऔषधजन्य पदार्थ सेवन गरेर होली खेलेको पाइए पनि प्रहरी कडा रूपमा प्रस्तुत हुने बताए ।
प्रहरीले कोरोना महामारीका कारण पछिल्ला वर्षहरूमा खुलेर होली पर्व मनाउन नपाएकाले यो वर्ष भिडभाड बढ्न सक्ने अनुमान गरेको छ ।
होलीको दिन काठमाडौंमा १७ सय प्रहरी प्रत्यक्ष परिचालन हुनेछन् । यसबाहेक रिजर्भ फोर्स समेत हुनेछ । वसन्तपुर, सानोगौचरण, भृकुटीमण्डप, ठमेल, असन, नयाँ बानेश्वर, लैनचौरलगायत दुई दर्जन क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति बढाइने प्रहरीले जनाएको छ ।
यो वर्षको होली पर्व काठमाडौंसहित पहाडी र हिमाजी क्षेत्रमा चैत ३ गते बिहीबार र तराईमा ४ गते शुक्रबार परेको छ ।