संसद विघटन ठीक छ भन्नु उचित हाेइन: एमाले नेता भुसाल

८ चैत, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटन ठीक छ भन्नु एमालेका लागि उचित नहुने बताएका छन् । संसद विघटनको पक्षपोषण गर्नु अस्थिरताको पक्षमा हिँड्नु बराबर हुने उनले बताए ।

मंगलबार पत्रकारहरुसँग कुरा गर्दै भुसालले सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन गलत थियो भनेर भनिसकेले अब पनि एमालेका लागि उचित नहुने बताए ।

सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर एमाले जाने हो भने यो संविधान भत्किन सुरु हुने भन्दै उनले भने, ‘संसदको यस खालको विघटनहरु ठीक छ भनेर जानुको अर्थ सोझासोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ’