जिर्ण थारु संग्रहालय

घोराही । गुम्रा थारु सांस्कृतिक संग्रहालय घोराही उपमहानगरपालिका वडा नं. १७ मा पर्छ । २०६६ सालमा स्थापना भएको संग्रहालयको उचित व्यवस्थापनमा ध्यान नदिदा अहिले जीर्ण अवस्थामा पुगेको छ ।

पूर्वसांसद महेश चौधरीले दिएको एक लाख रकमबाट संग्रहालय निर्माण शुरु गरिएको थियो । त्यसपछि अन्य संघ संस्था र व्यक्तिहरुको आर्थिक सहयोगसँगै संग्रहालय भवन निर्माण गरी थारु संस्कृति र परम्परा झल्किने सामग्रीहरु त्यहाँ राखियो तर संरक्षणमा कसैको नजर नपरेपछि संग्रहालयमा राखिएका थारु जातिका चिनारीहरु टुटफूट र जीर्ण अवस्थामा पुगेका छन । भवन परिसर जंगलले ढाकेको छ । भवनको अवस्था पनि जीर्ण छ ।
अहिले त झन पानी चुहिएर भित्र पानी जमेको छ । ढोकाबाट पनि पानी भित्र पसेको छ । पानी भित्र छिर्दा संग्रहालयमा भएका थारु परम्परा र संस्कृति झल्किने माटोका भाँडा तथा अन्य सामग्रीहरु फुटेर जीर्ण भएका छन । संग्रहालयमा भएका काठका सामग्रीमा धमिरा लागेको छ । संग्रहालयमा अहिले थारु संस्कृति बोकेको बुहान, भकारी, कुठली, गरगहना, लगाउने कपडा, पूजापाठ गर्न लागेका काठका मूर्ति लगायतका सामग्रीहरु छन ।