चुनावको प्रचार १५ दिन मात्रै गर्न पाइने

२९ साउन, काठमाडौं निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी दर्ता मतदान भन्दा ३९ दिनअघि नै हुने भए पनि प्रचारको समय घटाइने जानकारी दिनु भएको छ ।
‘उम्मेदवारी मनोनयन दर्ता भए पनि बाँकी २४ दिनसम्म के–के गर्न पाइने हो भन्ने पनि आयोगले नै भन्नेछ,’ थपलियाले भन्नुभयो,‘यो अवधिमा प्रचार–प्रसार गर्न भने पाइने छैन । अहिलेको कानुनमा टेकेर हामी निर्देशिका जारी गर्छौं ।’
प्रचारप्रसारमा लामो समय दिँदा निर्वाचनको मात्र होइन, उम्मेदवारहरूको खर्च पनि बढ्ने, प्रचारप्रसार अवधिभर राज्यका अंगहरू शिथिल हुने र विकास निर्माणदेखि जनताका काम सुस्त हुने भएकाले यति धेरै प्रचारका लागि समय नचाहिने भन्दै आलोचना भएको हो ।