सल्यान, २२ साउन । सल्यानमा जंगली च्याउ खाँदा बिरामी भएका मध्ये एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको शारदा नगरपालिका ४ साईलाकम्द बस्ने केशर बस्नेतको छोरी वर्ष अन्दाजी ४ की जोशना बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार जंगलबाट ल्याएको च्याउ खाएर राती बिरामी भएपछि शनिबार बिहान उनी सहित उनका दाईलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याईएको थियो ।जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएकोमा जोशनाको मृत्यु भएको हो । जोशना सँगै च्याउ खाएर बिरामी भएका उनका दाई जोन बस्नेतको भने स्वास्थ्य स्वास्थ्य अवस्था सुधार हुँदै गएको प्रहरीले जनाएको छ । च्याउ खाएर बिरामी भएका साईलाकम्दका ४० वर्षीया मिना बस्नेत र उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेतको नेपालगंज रिफर गरिएको छ ।