रुसले सैन्य एवं आर्थिक सहयोग मागेको दाबी चीनद्वारा खण्डन

३० फागुन, काठमाडौं । रुसले सैन्य एवं आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबीलाई चीनले खण्डन गरेको छ ।

अमेरिका दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य एवं आर्थिक सहयोग मागेको दाबी गरेका थिए । तर उक्त दाबीलाई अमेरिकास्थित चिनियाँ दूताबासले खण्डन गरेको हो ।

चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङयूले सैन्य एवं आर्थिक सहयोग मागेको कुरा आफूले ‘कहिल्यै नसुनेको’ भन्दै अमेरिकी अधिकारीको दाबी खण्डन गरेका हुन् । युक्रेनको पछिल्लो अवस्थालाई लिएर चीन चिन्तित बनेको र आफूहरूले युक्रेनलाई निरन्तर मानवीय सहायता प्रदान गर्ने पनि उनले प्रस्ट पारेका छन् ।

पेङयूले अवस्थालाई नियन्त्रण बाहिर जान दिनबाट रोक्नु पर्ने पनि बताएका छन् । सीएनएनसँग कुरा गर्दै उनले भने, ‘चीनले अधिकतम संयमता अपनाउन र भयङ्कर मानवीय संकट रोक्न समेत अपिल गर्छ ।’