आरती पौडेल
देशको राजधानी काठमाडौंमा यसै पनि चहलपहल बढी हुन्छ ।
त्यसमाथि नेपालीहरूको महान चाड दसैंको बेला राजधानीमा लत्ताकपडा, घरायासी सामान किन्नेहरूको भीड एकदमै हुने गर्छ । त्यसमाथि नेपालीहरूको महान चाड दसैं नजिकिँदै थियो । असनमा मान्छेले भीड नहुने त कुरै भएन ।
त्यही सिलसिलामा पोखराबाट दिदी पनि आफ्नो फेन्सी पसलको लागि सामानहरू लिन आउनु भएको थियो । दसैंको बिदा थियो, मलाई पनि पसल जान अनुरोध गरेपछि दिदीसँगै गएँ ।
असन धेरै पटक पुगे पनि त्यहाँका भित्री गल्लीहरू भने कहिले पनि पुगेकी थिइनँ । ती गल्लीहरूलाई पहिले त्यति नियालेर कहिले हेरेको थिइनँ जुन दिदीसँग जाँदा हेरेको थिएँ । ती गल्लीमा हिँड्दा म सबैलाई नियालिरहेको थिएँ । कोही मानिस उत्साहित थिए भने प्रायः मानिसहरू आफ्नो गन्तव्यमा पुग्न हस्याङफस्याङ गर्दै हतार गरेर हिँडिरहेका थिए ।
सामान नै सामानले भरिएका पसलहरू, साना–साना गल्लीमा मान्छेको त्यो रफ्तार ! सबै जना आफ्नो कामका व्यस्त थिए । सबैको फरक गन्तव्य र उद्देश्य भए जस्तो देखिन्थ्यो । सामान्यतः असनमा चाडपर्व नजिकिएसँगै पसलका लागि कपडा वा अन्य कुनै सामान लिन होलसेल पसलहरू आउने गर्छन् ।
सबै व्यापारी आफ्नो काममा व्यस्त थिए । कोही बाटामा निम्की, चटपट बेच्दै थिए त कोही हावाले भरिएका बेलुन बेच्न हिँडिरहेका थिए । कोही भने पसलमा सामानका मूल्य सोध्दै थिए ।
यस्तै, कोही भारी देखिने झोला बोकेर हिँडिरहेका थिए । कोही भने आफ्नो शरीरको तौलभन्दा गह्रुंगो भारी नाम्लो लगाएर बोक्दै हिँडिरहेका थिए । मलाई आफ्नो तौल भन्दा गह्रुंगो भारी बोकेर हिँडेका भरिया देख्दा भने मन खिन्न भयो ।
यो बिरानो सहरमा सबै आफ्नो परिवारको पेट भर्न दिनरात केही नभनी दुःख गरिरहेका थिए ।
ती गल्लीमा भारी बोक्ने भरियाको लस्कर देखिन्थ्यो । त्यहाँ देखिएका भरियाहरू अधिकांश २० वर्षका युवादेखि ६५ वर्षका वृद्धसम्मका थिए । असनका गल्लीहरूमा प्रायः पसल हुन्छ । मूल सडकबाट पसलसम्म गाडी नजाने नहुँदा भरियाहरूले सामान बोक्दा उनीहरूले रोजगारी पाउँछन् । त्यसैले उनीहरू आफू भन्दा ठूलो भारी बोकेर हिँडिरहेका थिए ।
ती गल्लीमा सबै जना पेट पाल्नको लागि कुनै न कुनै संघर्ष गर्दै गरिरहेको दृश्य देखिन्थ्यो । सबै आफूसँग भए भन्दा धेरै उपलब्धी पाउने आशामा दुःख गर्दै थिए त कोही जीवनमा कुनै उपाय नदेखेर दुःख गर्दै थिए ।
होलसेल पसलमा व्यापारीहरू खुला व्यापारीलाई सामान बेच्थे भने ती नै व्यापारी सर्वसाधारणसँग नाफा लिएर सामान बेच्थे । अनि नजिकै आज धेरै खेप भारी ओसार्न पाए बेलुकीको छाक सहजै टार्न सकिन्छ कि भन्ने आशमा ती भरियाहरू बस्थे । ती गल्लीमा हरेकका आफ्नै दुःख र व्यथा थिए, तर उद्देश्य भने सबैका फरक ।सोही बेला म बसिरहेको पसलमा अन्दाजी ५५ वर्षीय बुवाले हातमा नाम्लो बोकेर आउनुभयो । पसलेले भने सामान प्याक गरिरहेको हुँदा एकछिन बस्न अनुरोध गरे ।
उहाँ म नजिकै बसिरहनु भएको थियो । उहाँको हातखुट्टा फुटेका देखिन्थ्यो । शिरमा रङ उडेको ढाका टोपी लगाउनु भएको थियो । उहाँलाई देखेर बोल्न मन लागिहाल्यो तर आँटै आएन । भित्रबाट आवाज आयो, ’बाजे चिया खाने हो, मगाइदिऊँ ?’
तर उहाँ आफ्नै सुरमा हुनुहुन्थ्यो,सुन्नुभएन ।’बुवा चिया खानुहुन्छ ? भित्रबाट सोध्नुभएको छ ।’
‘खान्छु नानी भनिदेऊ’ भन्नुभयो ।
बोल्ने मौका पाएपछि म पनि मख्ख भएँ ।
असोजको महिना थियो । राजधानीमा चिसो हावा चलिरहेको थियो । मैले बोल्न मेसो पाएँ ।
‘अब त चिसो बढ्न सुरू गरेछ है बुवा !’
उहाँले मुसुक्क मुस्कुराउँदै भन्नुभयो,’हो नि नानी । चिसो बढिसक्यो । बिहान–बेलुका बढी नै चिसो हुन्छ ।’
मैले उहाँले जवाफ फर्काउने बित्तिकै अर्को प्रश्न गरिहालेँ।
‘हजुर कति बजेबाट कति बजेसम्म काम गर्नु हुन्छ नि !’
उहाँले अप्ठ्यारो मान्नु भयो, एकैछिन मेरो मुखमा हेर्नु भयो । प्रश्न सोधेर कतै गल्ती पो गरेँ कि भन्ने पनि लाग्यो ।
उहाँले एकै छिन रोकिएर जवाफ दिनु भयो ।
‘ठेगान नै हुँदैन नानी ! यहीँ चाडपर्वको बेला सिजन हो ।कोरोनापछि त पहिले जस्तो व्यापार छैन ।कहिले बिहान ६ बजे आएर बेलुका ८ बजेतिर फर्किन्छु ।’
उहाँको निजी जीवन बारे पो धेरै सोधेँ कि जस्तो लाग्यो। त्यही भएर केही नसोध्ने निधो गरेँ । तर बुवाले नै मलाई सोध्न थाल्नुभयो, ‘कहाँबाट आएको ? घर कता हो ।’
त्यसपछि मैले पनि संकोच नमानी आफ्नो घर ठेगाना बताएँ ।
त्यसपछि उहाँसँग बोल्न सहज भयो । अनि बुवालाई सोधेँ– बुवा यतिका ठूला–ठूला भारी बोक्दा गाह्रो हुँदैन ?
‘गाह्रो र दुःख त हरेकलाई हरेक पेशामा छ नि नानी ! मास्टरहरू दिउँसोभरी चर्को चर्को स्वरमा विद्यार्थीलाई पढाउँदा घाँटी दुख्दो हो,थकाइ लाग्दो हो । डाक्टरलाई दिउँसोभरी बिरामीलाई जाँच गर्दा बेलुकी आफैं शिथिल हुँदा हुन् । वकिलहरू दिउँसोभरी न्यायको लागि बोल्दा–बोल्दै बेलुकी आफैं थाक्दा हुन् । गायकहरूका गीत गाउँदा–गाउँदै गला दुख्दो हो, घाँटी बस्दो हो ! ’
म बुवाको चाउरी परिहरेको अनुहार हेर्दै उहाँको कुरा सुनिरहेको थिएँ ।
बुवाले आफ्नो विगतका कुरा सुनाउँदै भन्नुभयो, ‘मैले पनि ऊ बेला पढ्न पाएको भए ! गाह्रो भए पनि खुसी साथ आफ्नो पेशामा गर्व गर्छु । मैले कसैलाई ठगेको छैन,चोरेको छैन,बिराएको छैन । पसिना बगाएर खाएको छु । परिवार पालेको छु ।’
अनि सोचेँ– हामी सबै नेपालीले आफूले गर्ने पेशा बारे गर्व गर्न सके !