यो बर्षको बर्षात अवधि पानी विनानै सकिएको छ । अब चाडपर्वको मौसम शुरु भएको छ । तर मान्छेहरुलाई चाड पर्वले भन्दा मंसिर ४ को रौंनकले बढि छोएको छ । एकातिर मान्छेहरु घर पुग्नका लागि टिकट बुकिङ गर्न बसपार्क धाइरहेकाछन भने चुनावमा उठ्ने आकांक्षीहरु पार्टी कार्यालय र नेताका घरदैलो धाइरहेकाछन । चुनावमा टिकटका लागि अहिले आकांक्षीहरुको नाम सिफारिस गर्ने बैठकहरु जिल्ला र प्रदेश तहमा भइरहेकाछन । सबै दललाई चुनावी चटारोले छोएसँगै कसको कोसँग प्रतिष्प्रर्धा हुने भन्ने रोचक चर्चा र परिचर्चाहरुले चिया,चौताराहरुलाई तताइरहेकाछन ।
नाम सिफारिसको चर्चासँगै यतिवेला दाङलाई पनि चुनावी रंगले रंगाउन थालिसकेको छ । एमालेले ३ वटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारहरुको नाम माथिल्लो कमिटीलाई सिफारिस गरिसकेको छ भने नेपाली कांग्रेसले पनि लगभग सबै ठाउँका सम्भावित उम्मेदवारहरु भनेर नाम सिफारिस गरेको छ । यता माओवादी केन्द्रले समानुपातिकमा जाने उम्मेदवारहरुको नाम टुङग्याएको भएपनि प्रत्यक्षको नाम सिफारिस गरेको छैन ।
गठबन्धन हुँदा कहाँ कुन दलको भागमा पर्ने हो भन्ने निश्चित नभएपछि उम्मेदवारको टुङ्गो लगाउने काम पनि अघि नबढेको माओवादीको प्रतिकृया छ । यद्यपी गठबन्धन दल समाजवादीले भने सबै तहका सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेर माथि पठाइसकेको छ । अन्य साना दल र स्वतन्त्रहरु पनि जिल्लामा चुनावी तयारी गरिरहेको देखिन्छ ।
जिल्लामा खासगरी गठबन्धन दल र एमाले बीचको प्रतिष्प्रर्धा नै चुनावी मुख्य प्रतिष्प्रर्धा हुने देखिन्छ । दाङमा प्रतिनीधि सभाका लागि गठबन्धन दलहरुबाट कृष्णबहादुर महरा, दिपक गिरी, मेटमणि चौधरीको चर्चा छ भने एमालेबाट शंकर पोख्रेल, युवराज ज्ञवाली, घनश्याम पाण्डे, कोेमल वली, शान्ता चौधरी लगायतको नाम मुख्य रुपले चर्चामा रहेको छ । त्यस्तै दाङका ६ वटा प्रदेश सभाका लागि पनि दलहरुबाट दजनौं नेता, कार्यकर्ताको नाम सिफारिस भएको छ । गठबन्धन दलहरुबाट उम्मेदवार टुङ्गो लागेपछि मात्र कसको प्रतिष्प्रर्धा को सँग भन्ने कुरा निश्चत हुने छ । जिल्लामा स्थानीय तहको निर्वाचनलाई हेर्दा गठबन्धनको पक्षमा राम्रो नतिजा देखिदैन ।
स्थानीय चुनावमा एमालले घोराही र तुल्सीपुर क्षेत्रलाई आफनो हातमा पारे पनि आफनो संगठनको आधारले मात्र उसले चुनाव जित्ने अवस्था छैन । यसरी हेर्दा गठबन्धनलाई आपसी एकता र आफनो जनमतलाई जोगाइराख्ने चुनौती छ भने एमालेलाई गठबन्धन भित्रको असन्तुष्टि खोजेर त्यो मत आफनो पोल्टामा कसरी पार्न सकिन्छ भन्ने चुनौती छ । यी २ चुनौतीमा जसले मेहेनत गरेर जनमत लाई आफनो पक्षमा पार्न सक्छ चुनावी नतिजा त्यसैको पक्षमा हुने देखिन्छ ।