यो निर्वाचन गणतन्त्रले हार्ने कि जित्ने भन्ने लडाइ हो– पूर्वमन्त्री शर्मा

घोराही २४ कार्तिक, पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा यो निर्वाचन सामान्य निर्वाचन नभएर गणतन्त्रले हार्ने कि जित्ने भन्ने सवाल भएको बताउनुभएको छ ।
घोराही १३ कलमघारीमा जनभेटघाटका लागि पुग्नु भएका प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएकी शर्माले संविधान मास्ने प्रतिगामी शक्तिहरू विरूद्घ अहिलेको गठबन्धन भएको बताउनु भयो । एमाले, राप्रपा लगायतका दलहरूको गठबन्धन पनि तयार भएको छ, त्यो गठबन्धन अहिलेका उपलब्धिका विरूद्घ भएको भन्दै उहाँले भन्नुभयो– ‘राजनीतिक स्थायित्व सहितको समृद्ध मुलुक निर्माण गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायका दलहरूको नेतृत्वमा गठबन्धन तयार भएको छ’ । समृद्ध र स्थायित्व आम जनताको चाहना भएकाले त्यो प्राप्तिका लागि गठबन्धनलाई मतदान गर्ने विश्वास गर्नुभयो । शर्माले एमालेका इमान्दार नेता कार्यकर्ताले पनि गठबन्धनलाई मतदान गर्ने बताउनु भएको छ ।
केपी ओली समूहको गुटले पार्टी कब्जा गरेपछि एमाले भित्रका पुराना, इमान्दार र लगनशील कार्यकर्ताहरू माथि निषेध गर्न थालिएको उहाँको भनाई छ । ‘अहिले एमाले भित्रका सच्चा नेता कार्यकर्ता पाखा लाग्ने र नवप्रवेशीहरूले अवसर पाउने सृजना भएको छ, शर्माले भन्नुभयो– ‘केपी गुटले चुनाव जितेको खण्डमा एमाले भित्रका इमान्दार नेता तथा कार्यकर्ताहरूलाई अझ धेरै पाखा लगाउने काम हुनेछ, आफ्नो राजनीतिक भविष्यका लागि भए पनि उनीहरूले हामीलाई मतदान गर्ने छन’ ।
निर्वाचनमा एमालेले प्रत्यक्षमा ८ र १० सिट भन्दा बढी जित हासिल गर्न नसक्ने उहाँले ठोकुवा गर्नुभयो । पूर्वमन्त्री शर्माले दाङको समृद्धिका लागि गठबन्धनसँग स्पष्ट योजना भएको समेत बताउनु भयो ।
प्रदेशसभा दाङ २ (१) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण भएको बताउनु भयो । उहाँले मंसिर ४ पछि पनि एमाले पाँचै वर्ष सरकार बाहिर रहने दावी गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाकी मुख्य सचेतक अनिता देवकोटा, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री खगराज पाण्डे, माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार एवं पोलिटब्युरो सदस्य नारायणी शर्मा, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवारहरू धुव्र पुन, पुष्पा श्रेष्ठ, लिला नेपालीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
निर्वाचन प्रचारप्रसार समितिका संयोजक विनोद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वलदेव मल्लले गर्नुभएको थियो । कार्यक्रम सहसंयोजक जितबहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरू भएको थियो ।