क्रान्तिकारीको अध्यक्षमा दाङका नरेश रेग्मीले गरे उम्मेदवारी घोषणा

काठमाडौँ । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेश रेग्मीले केन्द्रीय समितिको २३ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेकाछन् । उनले आइतबार उदयपुरको घाइघाटस्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरी उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष इन्जिनियर गोबिन्द मल्लका अनुसार अखिल (क्रान्तिकारी) दाङले सर्वसम्मत राष्टिय सम्मेलन प्रतिनिधि छनोट गरेपछि रेग्मीको उम्मेदवारीको बाटो खुलेको हो।
‘आगामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गरेको छु। विद्यार्थी आन्दोलन फेरि नयाँ उचाइमा उठाउने कुरा एकल प्रयासबाट मात्र हुने कुरा होइन। त्यसको लागि गम्भीर एवं सामूहिक प्रयत्न चाहिन्छ। तसर्थ, सम्पूर्ण प्रतिनिधि एवं प्रियजनहरूलाई आ–आफ्नोबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु’, उनले भनेका छन् । यसअघि अर्का उपाध्यक्ष केशव रावलले पूर्व रुकुमबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन ।
यही असोज २–५ गतेसम्म काठमाडौँमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुँदै छ । प्रतिनिधि छनोट र जिल्ला अधिवेशनका लागि नेताहरू जिल्ला दौडाहामा रहेका छन् । अध्यक्ष पदका लागि शर्मा, रावल सहित पवन कार्की, नारायण खनाल, महासचिव दीपेश पुन लगायतले आकांक्षा देखाएका छन् । यसपटक क्रान्तिकारीले विधान संशोधन गर्दै पदाधिकारी सहित सबै तहमा प्रत्यक्ष निर्वाचन अवलम्बन गर्ने व्यवस्था राखेको छ ।