तिहार आयो ढकमक्क भयो सयपत्री

७ कार्तिक दाङ, दसैंकको बिदाईसँगै तिहार आएको झल्को घर आँगनमा ढकमक्क फुलेका सयपत्री फूलहरुले दिइरहेकाछन । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गदैं आएका भाष्कर पंगेनी र दशरथ साउदले रहर लाग्ने गरी बारीभरी सयपत्री फूलाएकाछन । उनीहरुको फूल खेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ भने कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन् ।
कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूलखेतीमा लाग्ने रोग,किरा र अन्य प्राविधिक पक्ष हेर्छन् । कपिलवस्तुमा ६ वर्ष पहिलेदेखि फूल खेतीमा लागेका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गरेकाछन् ।
घोराही–१५ भरतपुरमा १७ कठ्ठा जमिन मासिक र्२ हजार भाडामा लिएर उनीहरुले फूलखेती गरिरहेका छन् । गत वर्ष तिहारमा मात्रै १३ लाखको फूल बिक्री गरेको साउदले बताए । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर पाँच लाख आम्दानी गरेको उनले बताए । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उनीहरुको छ । उनीहरुले २ वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूलबाट खेती सुरु गरेका थिए । यसपाली कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोपेका छन् । दाङमा ८० हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताए । ‘यी सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर उमारेका हौँ’, उनले भने, ‘यसपालि दुई लाख रुपैयाँको बेर्ना बिक्री भइसक्यो । बिरुवाको जात हेरेर प्रतिगोटा दुई देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।’
स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउँछन् । उनले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय ८ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय ८ राखेका छन् । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा लामो समयसम्म राख्न समस्या भएको उनले बताए ।