दाङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएपछी उक्त सेवा प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा। सुशिल खनियाको नेतृत्वमा चिकित्सक डा. विवेक थापा, डा.पङ्कज नेपालीसहित नर्स तथा स्वास्थ्यकर्मीहरूको टोलीले सानादेखि ठूला शल्यक्रियासम्मका सेवा निरन्तर रूपमा प्रदान गर्दै आएका छन् ।
प्रतिष्ठानका अनुसार युरोलोजी विभागको ओपीडीबाट दैनिक ७० भन्दा बढी बिरामीहरूले परामर्शसहितको स्वास्थ्य सेवा लिइरहेका छन् । गएको जेठदेखि असोज मसान्तसम्म कुल २ सय ७७ जना बिरामीले युरोलोजी सेवा लिएका छन् । यसअघि जिल्लामा युरोलोजी सेवा उपलब्ध नहुँदा बिरामीहरूलाई सामान्यदेखि विशेषज्ञ उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित उक्त सेवा विस्तार भएपछि अहिले स्थानीय स्तरमै उपचार सम्भव बनेको छ ।
युरोलोजिष्ट सर्जन डा=खनियाका अनुसार १ सय ५७ जना मिर्गौलामा पत्थरी भएका बिरामीको गम्भीर प्रकृतिको शल्यक्रिया गरिएको छ भने मध्यम खालका २२ जना र सामान्य खालका ९९ जना बिरामीको सफल अप्रेसन सम्पन्न गरिएको छ ।
युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै समस्या, प्रोस्टेट,मिर्गौला र पित्तथैलीमा भएको पत्थरी,पिसाबको नलीका समस्या, अण्डकोषमा मासु पलाउने वा सुन्निने, पिसाब पोल्ने, चुहिने आदि विभिन्न स्वास्थ्य समस्या सम्बन्धी सेवा बिरामीहरूले सहजै प्राप्त गर्न सक्ने डा। खनियाले बताए । उनका अनुसार युरोलोजी सेवाका बिरामीहरूको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा.जनार्दन पन्थीले युरोलोजी सेवा अहिले अत्यन्त प्रभावकारी रूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवा प्राप्त गर्न पाउँदा बिरामीहरू खुसी व्यक्त गर्ने गरेको बताए । डा.खनिया यसअघि राप्ती प्रादेशिक अस्पतालमा लामो समयदेखि युरोलोजी सेवा प्रदान गर्दै आएका अनुभवी चिकित्सक हुन् ।


