दाङ, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उप–महासचिव घनश्याम डाँगीले उद्योगपतिहरूको स्वार्थका कारण मजदुरहरूको हक र अधिकार माथि खेलवाड भइरहेको बताएकाछन् । डाँगीले भनेकाछन–उद्योग बन्द हुनु उद्योगपतिहरूका व्यक्तिगत स्वार्थबाट उत्पन्न समस्या भएकाले यसका कारण निर्दोष मजदुरहरू सबैभन्दा बढी प्रभावित भएकाछन् ।
डाँगीले उद्योगी व्यवसायीहरूलाई विद्युत् बक्यौता तुरुन्त तिर्न र श्रमिकहरूको उचित पारिश्रमिक समयमै दिन आग्रह गरेका छन् । उनले यसलाई ब्ल्याकमेलिंग र गैरजिम्मेवार आन्दोलनको रूप समेत भनेकाछन्,जसले मजदुरहरूको भावना र अधिकारको अनादर गरेको छ ।‘मजदुरहरूको अधिकार हनन र स्वार्थका लागि उद्योग बन्द गर्न पाइँदैन । यस प्रवृत्तिको घोर विरोध गरिनेछ,’ डाँगीले चेतावनी दिएकाछन् । उनले राज्यका सम्बद्ध निकायलाई यस्तो गतिविधि माथि चासो राख्न पनि आग्रह गरेकाछन्,ताकि उद्योग सञ्चालनमा अवरोध नगरी मजदुरहरूको हकलाई सम्मान गर्न सकियोस् ।


